धरान । मोरङको रङ्गेली नगरपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा खेतबाट भारी परिमाणमा गाँजा बरामद गरेको छ । 

रङ्गेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकैको खेतबाट बुधबार राति नौ सय २१ किलोग्राम गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार खेतमा रुखमुनि परालले छोपेर लुकाईछिपाई राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो । प्रहरीका अनुसार २९ वटा बोरामा राखिएको अवस्थामा गाँजा बरामद गरिएको थियो । 

गाँजा कसले ल्याएर राखेको हो भन्ने विषयमा नखुलेका कारण अनुसन्धान भइरहेको उनले जानकारी दिए । भारत लैजानका लागि लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । नेपालको सुनसरी तथा मोरङका विभिन्न नाका हुँदै भारततिर गाँजा तस्करी हुने गरेको छ । 

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–११ मङ्गलबारे चोकबाट प्रहरीले एक महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले बिहीबार सोही वडाकी २४ वर्षीया रोशनी तामाङलाई पक्राउ गरेको हो । उनको कोठामा खानतलासी गर्दा विभिन्न नामका तीन सय १५ ट्याब्लेट लागूऔषध बरामद भएको जनाएको छ । बरामद लागूऔषधसहित उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।