धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । 

श्रम संस्कृति पार्टी जिल्ला समिति धनकुटाले पार्टी सङ्गठन विस्तार गर्ने उद्देश्यले आयोजना गरेको बृहत् जनसभालाई बिहीबार धनकुटामा सम्बोधन गर्दै अध्यक्ष साम्पाङले यस्तो दाबी गरेका हुन् । धनकुटाको तल्लो कोप्चेस्थित  रङ्गशालामा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले भने, “अहिले ठूला भनिएका पार्टीका नेताहरूले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको र उनीहरूको व्यवहार देखेर नेपाली जनता वाक्क भएकाले नेपाली जनताले विदेशी दलालबाट देश जोगाउन श्रम संस्कृति पार्टीलाई सरकारमा पु¥याउन बहुमत दिनेछन् ।” उनले अहिलेका राजनीतिक पार्टीहरू विदेशीको इशारामा हिँड्ने गरेको र देशको माया नगर्ने भएकाले देशभक्त पार्टी श्रम संस्कृति पार्टीलाई माटो चिह्नमा भोट दिएर जिताउन सम्पूर्ण धनकुटेली जनता समक्ष आग्रह गरे । 

अध्यक्ष साम्पाङले धनकुटाका शिक्षित मान्छेलाई आफू पढाउन, सिकाउनको लागि आएको नभई बोलाउन आएको बताए । उनले भने, “पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थ यी पाँचवटा कुराले नेपाली जनतालाई छियाछिया पारेको छ ।” उनले यो लथालिङ्ग र भताभुङ्ग भएको नेपाली समाजलाई अब यसरी हुँदैन, एउटै मालामा सुन्दर मालाको रूपमा सबै थरीलाई उन्नु पर्छ भनेर श्रम संस्कृति पार्टीले देशव्यापी अभियान चलाएर अघि बढिरहेको बताए । उनले सभालाई सम्बोधन गर्दै भने, “पार्टी बनाउन आयो, भोट माग्न आयो नभन्नुहोला, अब एक पटक माटोमा भोट हालेर श्रम संस्कृति पार्टीलाई बहुमत दिलाएर सरकार चलाउन दिनुहोस् ।”

धनकुटाको बसपार्कमा भेला भएर हजारौं समर्थक र कार्यकर्ताहरूको बीच श्रम संस्कृति पार्टी र जय माटोको नारा घन्काउँदै हर्क सम्पाङले धनकुटा बजार परिक्रमा गरे । कार्यक्रम पार्टीका धनकुटा जिल्ला अध्यक्ष आकाश राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।