धरान । कामधेनु दुग्ध विकास सहकारी संस्थाले तीन कार्यकाल अध्यक्ष रहेका संस्थापक सदस्यसहित दुईजनालाई विना कारण ‘शेयर सदस्य’ बाट निकाला गरेको पत्र थमाएको छ । 

गत मङ्सिर १२ गते बसेको संस्थाको सञ्चालक समिति र उपसमितिको संयुक्त बैठकले संस्थाको विनियमको दफा १३ ‘क’ र ‘ग’ बमोजिम दोषी ठहर गरी हटाइएको पत्र थमाएको हो । २०६१ सालदेखि ८ वर्षसम्म तीन पटक अध्यक्ष भएका कृष्णप्रसाद अधिकारी र २०७१ सालदेखि शेयर सदस्य रहेका मनोज दाहाललाई विना कारण शेयर सदस्यबाट निकालिएको हो । अधिकारी र दाहालद्वयले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई विना कारण निकालिएकोले कानूनी उपचार खोज्ने बताए । 

“हामीले संस्थामा हुँदै आएको आर्थिक अनियमितताको विषयलाई लिएर साधारणसभामा कुरा उठाउँदै आइरहेका थियौँ” अधिकारीले भने, “संस्था स्थापना गर्नमा भूमिका खेल्नेहरूलाई संस्थामा भइरहेको गतिविधिको विषयमा चिन्ता थियो । त्यसकारण हामीले आवाज उठाएका हौँ । तर त्यो आवाज उठाएकै नाममा हामीलाई एक्कासि ‘शेयर सदस्यबाट हटाइएकोबारे’ भन्दै ह्वाट्सएपमा पत्राचार गरियो ।” उनले आफू संस्थापक भएको साथै सातौँ नम्बरको शेयर सदस्य बनेको संस्थामा थाहै नपाई शेयर सदस्यबाट हटाइएको भनी लेखेको देख्दा आफै अचम्ममा परेको बताए । 

उनले आफूलाई निकाला गर्नुपर्ने गतिलो कारण केही पनि नभएको उल्लेख गरे । कात्तिकतिर संस्थामा कार्यरत एक कर्मचारीले आत्महत्या गरेको विषयमा आएको समाचारलाई आधार मानेर हटाइएको उनले उल्लेख गरे । “त्यो कर्मचारी के कति कारणले मरेको हो भन्नेसम्म आफूलाई अत्तोपत्तो थिएन, समाचार निकालियो भनेर हटाइएको छ” उनले भने, “त्यो समाचार कुन पत्रिका, रेडियो, टेलिभिजन वा कुन अनलाइनमा कुन सन्दर्भको समाचार हो केही उल्लेख छैन । आफूले कामधेनुबारे कुनै सञ्चार माध्यममा समाचार वा विचार पनि लेखेको छैन । अकारण हटाइएको पत्र आउँदा अचम्मैमा परियो ।”

गत कात्तिक १७ गते संस्थामा कार्यरत बजार प्रतिनिधि प्रेमकुमार मिश्रले आफ्नै घरमा आत्महत्या गरेका थिए । आत्महत्या गरेको स्थानमा मृत्युपत्रसमेत लेखेका थिए । जसमा बजार प्रमुख रञ्जितकुमार झा र बजार सहायक शेरबहादुर खड्काले ‘मानसिक तनाव’ दिएकाले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए । 

उक्त घटनासँग जोडेर कानूनमै नभएको विधिविधानलाई टेकेर आफूहरूलाई कारबाही गरिएको उनीहरूले उल्लेख गरे । यस्तै दाहालले आफूलाई पनि थाहै नदिई कानूनभन्दा बाहिर गई शेयर सदस्यबाट निकालिएको बताए । यसका विरुद्धमा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इनरुवामा मङ्गलबार निवेदन दिएको बताए । “मलाई निकाल्नका लागि भ्रामक मनगढन्ते र असत्य आरोप लगाएर शेयर सदस्यको हकअधिकारमाथि धावा बोल्ने कुचेष्टा गरिएको छ”–उनले भने । संस्थाका अध्यक्ष यादप ढकालले गरेको अनियमितताका बारेमा पटक पटक सचेत गराएकै नाममा आफूलाई निकाला गरिएको उनले दाबी गरे । “संस्थामा आर्थिक अनियमितताका बारेमा साधारणसभालाई जानकारी गराउँदै सञ्चालक समितिलाई सजग गराएको थिएँ” उनले भने, “अध्यक्ष ढकालले गरेका कर्तुतहरूलाई पनि भनेको थिएँ । साधारणसभामा बोलेको भिडियो अहिले पनि मसँग सुरक्षित छ ।”

अध्यक्ष ढकालले मोरङमा बनिगामा सहकारी संस्था खोलेर आफ्नै पत्नीलाई व्यवस्थापक बनाएको र उक्त संस्था कालोसूचीमा परेको अवस्थामा सोही सहकारीको कार्यालयमा कामधेनुको बोर्ड राखेर काम गर्दै आएकोप्रति आफूहरूले आपत्ति प्रकट गरेको बताए । “कालोसूचीमा परेको बनिगाम संस्थामा कामधेनु संस्थाको सेवा केन्द्रको साइनबोर्ड झुण्ड्याएर बनिगामाका तीनजना कर्मचारीहरूलाई कामधेनुबाट तलबभत्ता खुवाइँदै छ” उनले भने, “यस्ता कार्यहरूको आफूहरूले साधारणसभामा विरोध गरेको हो । तर अहिले समाचारको विषयलाई लिएर शेयर सदस्यबाट निकालिएको भनेर उल्लेख गरिएको छ ।”

उनीहरूले संस्थामा हुँदै आएको मनपरी रोकिनुपर्ने बताए । “गैरकानूनी निर्णय सच्याउनु पर्छ भन्ने हो, रजिष्ट्रार कार्यालयमा निवेदन पनि दिएका छौँ”–अग्रज पत्रकारसमेत रहेका अधिकारीले भने । 

यता सोही संस्थाको पाँचौँ तहका कर्मचारीलाई पनि एक्कासि निलम्बन गरिएको छ । २०६१ साल फागुनदेखि काम गर्दै आएका तेजप्रसाद सुवेदीले आफूलाई पनि विनाकारण निलम्बन गरेको बताए । “ढकालअघिको सञ्चालक समितिले २०७९ कात्तिक २७ गते अवकाश दिएको थियो” उनले भने, “त्यसविरुद्ध म अदालत गएँ । अदालतले २०८१ फागुन २१ गते मलाई पुनर्बहाली गर्नू भनी आदेश दियो । त्यो आदेशपश्चात् चैत १ गते संस्थामा हाजिर गराइयो ।” उनका अनुसार हालका अध्यक्षले अदालतबाट न्याय खोज्ने मान्छेलाई राख्नु हुँदैन भन्दै विभाग परिवर्तन गर्ने, सरुवा गर्ने, काममा बाधा गर्ने र हतोत्साहित गर्ने कार्यहरू गर्दै आइरहेको सन्दर्भमा हालै आई कर्मचारीको आत्महत्या प्रकरणलाई जोडेर निलम्बन गरिएको बताए । “मलाई प्राप्त भएको पत्रमा २०८२ कात्तिक १७ गते यस संस्थामा कार्यरत कर्मचारी प्रेम मिश्रको मृत्यु प्रकरणमा तपाईंले पीडित परिवारलाई प्रत्यक्ष अप्रत्यक्षरूपमा संलग्न भई झुटा विवरण प्रस्तुत गरेको र संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा नगरेको भन्ने आरोप लगाइको छ” उनले पत्रकार सम्मेलनमा भने, “उक्त मृत्यु घटनाबारे आफू एकदमै अनभिज्ञ रहेको छु । तर पनि अकारण मलाई निलम्बन गरिएको छ ।” यसबारे बुझ्न अध्यक्ष ढकाललाई फोन सम्पर्क गर्दा स्वीचअफ रहेको पाइयो ।