धरान । धरान उपमहानगरपालिकाको समन्वयमा युवाहरूलाई स्वरोजगारमुखी बनाउन ३ सय ९० घण्टे मोबाइल मर्मत तालिम सोमबारदेखि धरानमा सुरु भएको छ ।
भान्जा मोबाइल मर्मत केन्द्रमा आयोजित उक्त तालिम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सञ्चालन भएको हो । तालिम केन्द्रका प्रशिक्षक आशिषराज यादवका अनुसार आधुनिक सुविधा सम्पन्न तालिम केन्द्रमा २९ जना युवालाई दक्ष प्रशिक्षकमार्फत् तालिम प्रदान गरिनेछ ।
सिटिइभिटीको पाठ्यक्रमअनुसार तह १ अन्तर्गत दुई ब्याचमा तालिम सञ्चालन गरिने प्रमुख प्रशिक्षक तथा मोबाइल मर्मत केन्द्रका प्रबन्धक सबिन लम्सालले जानकारी दिए । उनले दक्ष जनशक्ति उत्पादनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी तालिममा सुरेन्द्र दाहाल र मीनकुमार राना मगरले पनि प्रशिक्षण दिनेछन् । कार्यक्रमले युवाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाटन धरान उपमहानगरका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले गरेका थिए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामस्वरूप शर्मा, वडा नं. ८ का सदस्य रविन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।