विजयपुर । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पदभन्दा नैतिकता ठूलो भएको जनाएका छन् ।
बुधबार मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । गुरुङ २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा थिए । आफूमाथि उठेका सेयर लगानी र आर्थिक पारदर्शितासम्बन्धी प्रश्नपछि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।
पछिल्लो समय गुरुङमाथि आफ्नो सम्पत्ति विवरणमा केही संस्थापक सेयर नदेखाएको तथा केही विवादास्पद व्यावसायिक समूहसँग सम्बन्ध राखेको आरोप लाग्दै आएको थियो। उनले प्रारम्भमा ती आरोप अस्वीकार गरे पनि नागरिक स्तर र सञ्चार माध्यमबाट दबाब बढेपछि पद त्याग्ने निर्णय लिएका हुन् ।
गुरुङले पदमा रहँदा निष्पक्ष छानबिन प्रभावित हुन सक्ने तथा स्वार्थको द्वन्द्व देखिन सक्ने भन्दै मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु ।”
फेसबुकमा उनले भनेका छन्, “म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु ।”
उनले थप उल्लेख गरेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन–जी आन्दोलनले पनि यही सन्देश दिएको छ—सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।”
मन्त्री गुरुङको फेसबुक स्टाटस
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।