धरान । निर्देशक नवीन सुब्बा र निर्माता आमोद राईको सहकार्यमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘लाहुरे जुत्ता’ अहिले छायाङ्कनको अन्तिम तयारीमा पुगेको छ । करिब ६ महिनादेखि निरन्तर वर्कसपमार्फत् कलाकारलाई तयार पार्दै आएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा फरक अभ्यास प्रस्तुत गरेको छ ।

नेपालमा प्रायः चलचित्रहरू छायाङ्कनअघि सीमित तयारीमै सुरु गरिने प्रचलन रहेको अवस्थामा ‘लाहुरे जुत्ता’ ले भने अभिनय, पात्र निर्माण, भाषा, संस्कृति र परिवेशसँग कलाकारलाई गहिरो रूपमा जोड्ने उद्देश्यले लामो वर्कसप सञ्चालन गरेको छ । काठमाडौंमा सञ्चालन गरिएको उक्त वर्कसप अहिले अन्तिम चरणमा पुगेको निर्माता राईले जानकारी दिएका छन् ।

उनका अनुसार चलचित्रको कथा करिब १५ वर्षअघि स्वप्नील स्मृतिले लेखेका हुन्, जसले लिम्बू समुदायको मौलिक संस्कृति, जीवनशैली र भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ ।

विशेषगरी २०४०–०४५ सालतिरको सामाजिक परिवेशलाई आधार बनाइएको यस कथामा ‘लाहुरे’ (विदेशी सेनामा भर्ती हुने नेपाली) संस्कृतिको एउटा प्रतीकात्मक पाटो—जुत्ता—मार्फत् कथा अघि बढाइएको छ ।

निर्माता राई भन्छन्, “पल्टनमा भर्ती भएका बाजे घर फर्किंदा ल्याएको जुत्ताले परिवार र समाजमा ल्याउने भावनात्मक र सांस्कृतिक प्रभावलाई कथा बनाइएको छ ।” चलचित्रमा १८ देखि २५ वर्ष उमेर समूहका नयाँ पुस्ताका कलाकारलाई अवसर दिइएको छ, जसले कथामा ताजापन र यथार्थता थप्ने विश्वास निर्माण टिमको छ ।

छायाङ्कन तेह्रथुम, ताप्लेजुङका विभिन्न लिम्बू गाउँहरूका साथै भारतको सिलिगुडी र सिक्किममा गर्ने तयारी गरिएको छ । यसले कथा र परिवेशलाई अझ प्रामाणिक बनाउने अपेक्षा गरिएको छ । मेन्छ्यायेम पिक्चर प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र यही वैशाखभित्रै फ्लोरमा जाने लक्ष्य राखिएको छ ।

चलचित्रमा सबै नयाँ कलाकारलाई अवसर दिनु केवल आवश्यकता मात्र नभई दीर्घकालीन लगानीका रूपमा हेरिएको निर्देशक सुब्बाले बताएका छन् । “नयाँ प्रतिभालाई तयार पार्नु भनेको नेपाली अभिनयलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने आधार निर्माण गर्नु हो”–उनले भने ।

यस परियोजनामा अन्तर्राष्ट्रियस्तरका प्राविधिकहरू पनि संलग्न छन् । साथै, हङ्कङ, अमेरिका, बेलायत र अष्ट्रेलियामा रहेका नेपाली समुदायका लगानीकर्ताहरूको सहभागिताले चलचित्रलाई अझ बलियो बनाएको छ । देवराज राई, पूर्णसिंह बराइली र रमेश सिङ्गकलगायतले लगानी गरेका छन् भने चलचित्रको अनुमानित बजेट करिब ३ करोड रुपैयाँ रहेको छ ।

निर्देशक नवीन सुब्बाको अघिल्लो चलचित्र गाउँ आएको बाटोले अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय सफलता हासिल गरेको थियो । उक्त चलचित्र टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र बुसन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवजस्ता प्रतिष्ठित मञ्चहरूमा प्रदर्शन भई प्रशंसा बटुलेको थियो । यसै सफलतापछि निर्माता टोलीले अझ सशक्त कथावस्तु भएको ‘लाहुरे जुत्ता’ मा लगानी गर्ने निर्णय गरेको हो ।

नेपाली समाजका मौलिक कथा, परम्परा र बदलिँदो परिवेशलाई संवेदनशील ढङ्गले प्रस्तुत गर्ने निर्देशक सुब्बाको पहिचानका कारण पनि यो चलचित्रप्रति दर्शक र समीक्षक दुवैको चासो बढ्दै गएको छ । लामो तयारी, नयाँ कलाकार, सांस्कृतिक गहिराइ र अन्तर्राष्ट्रिय सोचको संयोजनले ‘लाहुरे जुत्ता’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्वपूर्ण परियोजना बन्ने अपेक्षा गरिएको छ ।