वराहक्षेत्र । जङ्गली हात्ती नियन्त्रण गर्न साइरन बजाएर सूचना दिने ‘एलिफेन्ट टावर’ वराहक्षेत्र नगरपालिका–२ स्थित रेल–वे लाइनमा निर्माण थालिएको छ ।

नियमित आइरहने जङ्गली हात्तीबाट प्रभावित सो क्षेत्रमा विदेशी संयुक्त राष्ट्र विकास कार्यक्रम (युनडिपी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त टावर निर्माण भइरहेको हो । टावर वडाको चारकोशे जङ्गलनजिकै रहेको जङ्गली हात्तीबाट धेरै प्रभावित सगरमाथा टोलमा बनिरहेको छ । हात्ती आएको गाउँलेलाई सूचना दिन करिब तीस फुट अग्लो टावर बनाउन लागिएको युनडीपीको कार्यक्रम सहयोगी तथा टावर निर्माण संयोजक अध्यक्ष कमला थापाले बताइन् ।

करिब पाँच लाख रुपैयाँको लगानीमा बनिने टावरमा सूचना दिने माइक, सिसिटिभी, ड्रोन र अवलोकन क्यामेरा जडान गरिने अध्यक्ष थापाले बताइन् । टावर कौशिका सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा निर्माण भइरहेको जनाएको छ । एक्लै र समूहमा नियमित आइरहने गरेका हात्तीबाट स्थानीयवासी सधैँ त्रसित रहने गरेका स्थानीयहरू बताउँछन् । हात्ती आएको समयमा गाउँलेलाई सचेत गर्न र साइरन बजाएर हात्तीलाई गाउँ पस्नबाट रोक्न टावर निर्माण आवश्यक भएको टावर निर्माण समूह तथा कौशिका वन समूहका अध्यक्ष डिकबहादुर श्रेष्ठले बताए ।

पर्यापर्यटनको अवधारणा अनुसार बनिरहेको टावरले हात्तीको सूचनासँगै जङ्गलमा रहेको विविध जङ्गली वन्यजन्तु र चरा अवलोकन गर्न सकिने स्थानीय पर्यटन अगुवा युवराज भट्टराईले बताए । सो क्षेत्रमा हात्ती तथा चरा अवलोकन गर्न सकिने एलिफेन्ट टावरसँगै घरबासको कार्यक्रम पनि सञ्चालन गरिन लागेको भट्टराईले जानकारी दिए । टावरको निर्माणको केही समय अगाडि वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले शिलान्यास गरेका थिए ।