धरान । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–७ श्रीवानीबाट २ सय ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित ४७ वर्षीय यमबहादुर भण्डारी पक्राउ परेका छन् ।
यस्तै धरान–८ बाट एक केजी गाँजासहित साँगुरीगढी गाउँपालिका–८ का ३६ वर्षीय आशकुमार राई पक्राउ परेका छन् । इटहरी–११ मा डेरा गरी बस्ने भारत बिहार घर भएका २९ वर्षीय मो. सहनेवाजकलाई ट्रामाडोल ५० हजार ५ सय ४० ट्याब्लेट र डाइक्लोमाइन ९ हजार ५ सय २० ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
यता काँकरभिट्टाबाट ३२ ट्याब्लेटसहित २ जना, झापा गाउँपालिका–१ बाट ४ ग्रामभन्दा बढी ब्राउनसुगरसहित २ जना तथा मेचीनगर–६ बाट ब्राउनसुगरसहित एक महिला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यसैगरी उदयपुरको चौदण्डीगढी–६ बाट ३४ ट्याब्लेटसहित २३ वर्षीय अस्मिन तामाङ र मोरङको लेटाङ–८ बाट ३ ग्रामभन्दा बढी ब्राउनसुगर र नगदसहित २२ वर्षीय सञ्जु बुर्जा मगर पक्राउ परेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिबार इटहरी उपमहानगरपालिका–११ स्थित एक घरबाट भारत बिहार राज्य नरपतगञ्ज स्थायी ठेगाना भएका २९ वर्षीय मोहम्मद सहनेवाजलाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट विभिन्न नामका ६० हजार ६० ट्याब्लेट लागूऔषध बरामद गरेको हो । प्रहरीले प्रदेश १–०२–०५० प ७१२२ नं. को स्कुटर र एक थान मोबाइल बरामद गरेको छ ।
यस्तै झापाको भद्रपुर नगरपालिका–५ गौशालाबाट पाँच ग्राम ६० मिलिग्राम ब्राउनसुगर र ६ ट्याब्लेट नियन्त्रित लागूऔषध बरामद गरेको छ । प्रहरीले ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१ का २२ वर्षीय प्रताप मादेन र सोही नगरपालिका–५ ताप्लेजुङ बजारका २४ वर्षीय अनुप लामगादेलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।