धरान । धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभान क्षेत्रमा स्थानीयको सक्रियतामा श्रमदानबाट फलामे पुल निर्माण कार्य तीव्ररूपमा अघि बढाइएको छ । वर्षौंदेखि पुल अभावका कारण जोखिमपूर्ण आवतजावत गर्न बाध्य स्थानीय अहिले सामूहिक प्रयासमार्फत् समाधानतर्फ उन्मुख भएका छन् ।
विशेषगरी वर्षायाममा खोलाको बहाव बढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था थियो । कतिपय बालबालिकाले खोला पार गर्ने क्रममा ज्यान गुमाउनुपरेको पीडादायी घटना अझै स्थानीयको स्मृतिमा ताजा छ । यिनै दुःखद् अनुभवले प्रेरित भएर समुदाय अहिले पुल निर्माणमा एकजुट भएको हो ।
स्थानीय जीवन राई विगत सम्झिँदै भन्छन्, “विद्यालय जानका लागि खोला तर्दा पटक–पटक बगिएको अनुभव छ । अहिले आफ्नै श्रमले पुल बन्दै गरेको देख्दा निकै सन्तोष लागेको छ ।”
पुल निर्माण संयोजक तथा पूर्व वडाध्यक्ष धनबहादुर राईका अनुसार पुल सम्पन्न भएपछि धरान–४ लाई धरान–१३ र १४ सँग जोड्नुका साथै नारे, दानाबारी, हर्दिया हुँदै धनकुटाको राजारानीसम्म आवागमन सहज हुनेछ । यसले स्थानीय कृषिउपज बजारसम्म पु¥याउन मात्र होइन, विद्यार्थीको शिक्षा र बिरामीको उपचार पहुँचमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।
उनी भन्छन्, “बर्खामा अभिभावकले लौरोको सहारामा बालबालिकालाई खोला तार्ने दृश्य अत्यन्त पीडादायी हुन्थ्यो । अब त्यो अवस्था अन्त्य हुने विश्वास छ ।”
निर्माणका लागि आवश्यक आर्थिक स्रोत देश–विदेशमा रहेका सहयोगी दाताबाट जुटाइएको छ भने स्थानीयले श्रमदानमार्फत् निरन्तर साथ दिइरहेका छन् । बर्खा नजिकिँदै जाँदा निर्माण कार्य छिटो सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जनाइएको छ ।
सल्लाहकार दत्त लिम्बूका अनुसार यसअघि खानेपानी पाइप विस्तारका क्रममा जीर्ण बनेको संरचनालाई पुनर्निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएपछि श्रमदानको अवधारणा अघि सारिएको हो । “बालबालिकाले भोग्नुपरेको जोखिमले हामीलाई भावुक बनायो, त्यसैले समुदाय स्वयम् अघि सरेको हो”–उनले भने ।
करिब ५० मिटर लम्बाइको फलामे पुल निर्माण भइरहेको छ । आवश्यक फलाम र तारजाली दाताको सहयोगबाट खरिद गरिएको छ । स्थानीय सरस्वती राई भन्छिन्, “बर्खामा सब्जी बढी उत्पादन भए पनि बजारसम्म लैजान सकिन्थेन । पुल बनेपछि हाम्रो जीवन सहज हुनेमा हामी ढुक्क छौँ ।” उनले थपिन्, “अहिले हामी आफै श्रमदान गर्दैछौँ । असम्भवजस्तो लागेको काम पनि सामूहिक प्रयासले सम्भव हुँदो रहेछ ।”
स्थानीयको यही एकता र प्रतिबद्धताले सेउती खोलामा पुल मात्र होइन, आशा र सम्भावनाको नयाँ मार्गसमेत निर्माण गरिरहेको छ । (रासस)