विराटनगर । मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा ती उद्योगहरूको सञ्चालनमा रोक लगाइएको हो । प्रशासनले लेटाङ नगरपालिकामा कालिका कन्स्ट्रक्सनद्वारा सञ्चालित क्रसर र बेलबारी नगरपालिकाअन्तर्गत चिसाङ खोलामै अम्बिका गुरागाईंले सञ्चालन गरेको कान्तिपुर क्रसर उद्योग बन्द गराएको हो । कालिका कन्स्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ (गिट्टी र अलकत्राको मिश्रण) उत्पादन गर्दै आएको थियो ।
उक्त उद्योग कन्स्ट्रक्सनले निर्माण अवधिभरका लागि निर्माण सामग्री र अस्फाल्ट उत्पादन गर्न सम्झौता गरी करारमा लिएको बताइएको छ । उद्योग बन्द हुँदा दैनिक ५ सय मिटर सडक कालोपत्रे गर्ने काम ठप्प भएको उद्योगका प्रतिनिधि उज्वल प्रसाईंले बताए । उनका अनुसार दैनिक आठ सय घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ, जसको बजार मूल्य प्रतिघनमिटर करिब ३ हजार रुपैयाँ पर्दछ ।
जिल्ला प्रशासन कार्यालयले दुवै उद्योगका बिल भर्पाइ र आर्थिक कारोबारका कागजात नियन्त्रणमा लिएको जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) विना नै उत्खनन् गरेको र वास्तविक बिक्री मूल्यभन्दा आधा कम देखाएर बिल काट्ने गरेको सूचनाका आधारमा प्रशासनले छानबिन सुरु गरेको जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उद्योगका बारेमा धेरै उजुरी परेकाले कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रशासनले आर्थिक अनियमितता र मापदण्ड उल्लङ्घनको पाटो केलाउन राष्ट्रपति चुरे संरक्षण कार्यालय मोरङका प्रमुखको नेतृत्वमा सात सदस्यीय प्राविधिक छानबिन समिति समेत गठन गरेको छ । प्रशासनले नियमविपरीतका उद्योगमाथि कडाइ गर्ने नियमित प्रक्रियाअन्तर्गत यो कदम चालेको जनाए पनि सडक विस्तार जस्तो राष्ट्रिय गौरवको आयोजनामा प्रयोग हुने कच्चापदार्थ रोकिएपछि निर्माण पक्ष दबावमा परेको छ ।
हाल राजमार्गका अन्य काम यथावत् रहे पनि सामग्री अभावमा कालोपत्रे गर्ने मुख्य कार्य भने प्रभावित भएको छ । यसैबीच केही दिनअघि मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले जथाभावी खोला उत्खनन् गरेको, मापदण्डविपरीत क्रसर सञ्चालन गरेको र स्थानीयलाई धुलोधुवाँका कारण सास्ती दिएको गुनासो आएको बताएका थिए । उनले स्थानीयलाई गुण्डा लगाएर त्रसित बनाउने गरेको भन्दै क्रसर सञ्चालक भीम पौडेललाई टेलिफोन गरी छलफलका लागि बोलाएका थिए । यद्यपि पौडेलले उक्त क्रसर आफूले नभई कालिका कन्स्ट्रक्सनले सञ्चालन गरिरहेको स्पष्ट पारे ।