विराटनगर । देशभर कक्षा १२ को वार्षिक परीक्षा चलिरहँदा कोशी प्रदेशको राजधानी विराटनगरका परीक्षा केन्द्रहरूमा मङ्गलबार निकै असहज दृश्य देखियो । विद्यार्थीको शैक्षिक भविष्य तय गर्ने महत्वपूर्ण खुड्किलो मानिएको परीक्षामा मर्यादित र स्वच्छ वातावरण हुनुपर्नेमा जुत्ता, मोजा र भित्री वस्त्र (अन्डरवेयर) सम्ममा ‘चिट’ लुकाएर परीक्षार्थीहरू हलभित्र प्रवेश गरेको पाइएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले आकस्मिक अनुगमन गर्दा विराटनगरका विभिन्न केन्द्रबाट झण्डै एक बोरा प्रतिबन्धित सामग्री (चिट) बरामद भएको छ । अनुगमन टोली आदर्श बालिका स्कुल, सत्यनारायण मा.वि., विकेभिएम र जनपथ मा.वि.सहितका ६ वटा विद्यालयमा पुग्दा परीक्षार्थीहरूमा खैलाबैला मच्चिएको थियो । विद्यार्थीले चिट लुकाउन अपनाएका उपायहरू देख्दा अनुगमन टोलीसमेत चकित परेको थियो । गेस पेपरका पानाहरू र गाइडलाई मेसिनले नै काटेर साना आकारमा बनाइएका चिटहरू विद्यार्थीले भित्री वस्त्रभित्र लुकाएका थिए । कतिपयले त संवेदनशील अङ्गहरूमा समेत चिट लुकाएर परीक्षाको मर्यादामाथि प्रहार गरेको भेटिएको छ ।
यो घटनाले शिक्षा प्रणाली र विद्यार्थीको घट्दो नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ । सामान्यतया सामुदायिक विद्यालयको पढाइ र अनुशासनमा प्रश्न उठ्ने गरे पनि यस पटकको अनुगमनमा सामुदायिकभन्दा निजी विद्यालयका विद्यार्थीहरू बढी अमर्यादित गतिविधिमा संलग्न भेटिएका छन् । यसले निजी शैक्षिक संस्थामा बढ्दो ‘जीपीए’ को होडबाजी र विद्यार्थीमा मौलाएको अनैतिक प्रवृत्तिलाई उजागर गरेको छ ।
“जीपीए बढाउने दबाव र जसरी पनि पास हुनैपर्ने गलत मान्यताका कारण विद्यार्थीहरू यस्ता विकृतिमा लागेका हुन्” अनुगमनमा संलग्न एक अधिकारीले भने, “यसरी प्राप्त गरिने प्रमाणपत्रले उनीहरूको भविष्य र ज्ञानको स्तर कस्तो होला भन्ने चिन्ताको विषय बनेको छ ।” पछिल्लो समय विद्यार्थीमा वास्तविक सिकाइ र ज्ञानभन्दा पनि नम्बर र ग्रेडका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढेको शिक्षाविद्हरूको टिप्पणी छ । विराटनगरमा मङ्गलबार बरामद भएको ‘बोराभरि चिट’ ले परीक्षाको गरिमा जोगाउनु चुनौतीपूर्ण रहेको त देखाएको छ नै, सँगै समाज र शैक्षिक संस्थाहरूले आफ्ना विद्यार्थीलाई कस्तो नैतिकता सिकाइरहेका छन् भन्ने विषयमा पनि नयाँ बहस छेडेको छ ।