विजयपुर । माछा व्यवसायीहरूले आफूखुसी माछाको मूल्य बढाएको पाइएको छ । प्रतिकेजी १० रुपैयाँदेखि एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको पाइएको छ ।  

उपभोक्ता देवेन्द्र दाहालका अनुसार माछाको मूल्य प्रतिकिलो १ सय रुपैयाँसम्म बढेको छ । उनले हप्तादिनअघि ४ सय रुपैयाँ प्रतिकिलोमा पाइने माछा अहिले ५ सय रुपैयाँसम्म पुगेको बताए । अर्का उपभोक्ता पर्शुराम लामाले पनि बजारमा एक्कासि माछाको मूल्य बढेको बताए । ब्लाष्टकर्मीले स्थलगतरूपमा बजार अनुगमन गर्दा पनि माछाको मूल्य प्रजातिअनुसार प्रतिकिलो १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेको पाइएको छ । 

माछा व्यवसायीहरूले समेत मूल्यवृद्धि भएको स्वीकार गरेका छन् । एक व्यवसायीका अनुसार यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको माछा शनिबारदेखि ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । अर्का माछा व्यवसायी गुलाब साहले प्रतिकिलो १० रुपैयाँदेखि ७० रुपैयाँसम्म मूल्य बढेको जानकारी दिइन् । उनका अनुसार बिचौलियाका कारण मूल्यवृद्धि भएको हो । 

उनले भनिन्, “धेरै व्यापारी र आपूर्ति व्यवस्थापन नमिल्दा मूल्य बढेको हो ।” उनले बिचौलियाका कारणले मूल्य वृद्धि भएको बताइन् । उनका अनुसार बजारमा माछाको अभावसमेत भएकाले मूल्य बढेको हो । धरान बजारमा झापा, इनरुवालगायतका स्थानबाट माछा आउने गरेको छ । धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धरानका माछा पसलहरू व्यवस्थित गर्न आवश्यक रहेको बताए । 

आफू बिदामा रहेको उल्लेख गर्दै समन्वय गरेर मूल्यवृद्धिका विषयमा अनुगमन गर्ने बताएका छन् ।