वराहक्षेत्र । सरकारी प्रणालीको लाचारीको नमुना सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नं. १ को सूर्यकुण्ड माध्यमिक विद्यालय बनेको छ ।
स्कुलका शिक्षकहरूले गोबर माटोले कक्षाकोठा बनाइरहेको माथिको तस्बिरबाट प्रष्ट हुन्छ । नयाँँ शैक्षिक सत्रमा भर्ना भएका कक्षा १० का विद्यार्थीलाई पढाउने कक्षाकोठाको अभाव भएपछि स्कुलले चन्दा उठाएर कक्षाकोठा निर्माण थालेको हो । अभिभावक र शिक्षक भेला गरी प्रत्येक अभिभावकसँग एक हजार रुपैयाँका दरले चन्दा सङ्कलन गरेको छ । सङ्कलित करिब २० हजार रुपैयाँ, स्कुलको पुरानो जस्तापाता र काठले बारेर २ वटा कच्ची कोठाको निर्माण सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक राईले बताए ।
“सङ्घीय सरकारले बनाइदिने भनिएकोे भवन समयमा नबनेपछि विद्यार्थीको पढाइ रोकिने अवस्थामा पुगेको छ । केही पार नलागेपछि कच्ची नै भए पनि कोठा बनाउन लागेका हौँ”–अध्यक्ष राईले भने । सङ्घीय सरकारले एक वर्षअगाडि नै बहुकक्षाकोठा भएको आधुनिक भवन बनाउने भनेको थियो तर हालसम्म काम नभएको अध्यक्ष राईले गुनासो गरे ।
उता स्थानीय सरकार वराहक्षेत्र नगरपालिकाले गत वैशाखमा मा.वि. तहको मान्यता दिएको थियो । “सुगम स्थानका विद्यालयलाई सुविधामाथि सुविधा दिने सरकारले हामी पहाडीक्षेत्रको विद्यालयलाई भेदभाव गरेको छ”–एक स्थानीय अभिभावकले भने ।
सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका सूचना अधिकारी सञ्जयकुमार महतोले सूर्यकुण्डको भौतिक संरचनाका लागि सम्झौताको चरणमा रहेको बताए । उक्त भवनको अनुमानित लागत दुई करोड ५८ लाख ८६ हजार पाँच सय ८० रुपैयाँ रहेको सूचना अधिकारी महतोले जानकारी दिए । तीन तलाको १० कोठे भवनको ठेक्का कौशिकी दिल ज्वाइन्ट भेन्चरले पाएको छ । ठेकेदारको कबोल रकम दुई करोड २३ लाख २५ हजार एक सय ९७ रुपैयाँ रहेको महतोले बताए । यस विद्यालयमा भौतिक संचरना मात्र हैन; शिक्षक दरबन्दी र तलबलगायत प्रशासनिक समस्या पनि त्यतिकै जटिल छ । “एकातर्फ भवनको अभावमा अलग अलग कक्षालाई गाभेर एउटै कक्षामा सञ्चालन गरेका छौँ भने अर्कोतिर शिक्षक नहुँँदा कार्यालय सहयोगीले पनि पढाउनु परेको छ”–प्रअ साहले बताए ।
शिक्षक दरबन्दी मिलान चार वर्षदेखि अड्किएको छ, पटक पटक शिक्षा मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब दिन नसक्दा अबको दुई महिनाभित्र बिदाइ गर्नुपर्ने बाध्यता रहेको प्रअ साहले बताए । विद्यालयमा २ स्थायीसहित १२ जना कार्यरत छन् ।