काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुनुअघि प्रतिपक्षी सांसद्हरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गरेका छन् ।
बुधबार बैठकका क्रममा प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले आक्रोशपूर्ण शैलीमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै “देश केही व्यक्तिको मात्रै होइन” भन्दै प्रश्न उठाए । उनले टोपी फुकालेर गोजीमा राख्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे । संसद् हलमा त्यसपछि चर्को नाराबाजी सुरु भएको थियो ।
यस्तै, भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीकै सांसद् ध्रुवराज राईले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । विपक्षी सांसद्हरूले प्रधानमन्त्री उपस्थित नभएसम्म संसद्को कार्यसूची अगाडि बढ्न नसक्ने अडान लिएका थिए । प्रतिपक्ष दलहरूले नाराबाजी र होहल्ला गरी सभामुखलाई बोल्नै दिएनन् ।
बैठक सञ्चालन गरिरहेका सभामुख डोलप्रसाद अर्यालले सांसद्हरूलाई संसद्ले नै बनाएको नियमावलीको व्यवस्था स्मरण गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । उनले नियमावलीको अंश पढेर सुनाउँदै संसद्को प्रक्रियाअनुसार अघि बढ्न अनुरोध गरे पनि विपक्षी सांसद्हरूले त्यसलाई अस्वीकार गर्दै नाराबाजी जारी राखेका थिए ।
यसैबीच, सांसद् ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री स्वयम्ले तयार पारेको हो वा मन्त्रीहरूले बनाएको हो भन्ने प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने भन्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रियामाथि पनि प्रश्न गरे ।
सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका लागि सांसद् स्वर्णिम वाग्लेले प्रस्तुतीकरण गरेका थिए । संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरू थप आक्रामक बनेका छन् । उनीहरूले प्रधानमन्त्री उपस्थित भएर संसद्लाई जवाफ दिनुपर्ने माग दोहो¥याएका छन् । सत्ता पक्षले भने संसद्को प्रक्रिया र नियमावलीअनुसार नै बैठक अघि बढाइएको जनाएका छन् ।
हाल संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल राजनीतिक आरोप–प्रत्यारोप तथा प्रधानमन्त्रीको भूमिकामाथिको प्रश्नका कारण तनावपूर्ण बनेको छ । विपक्षी दलहरूले सरकार नैतिकरूपमा असफल भएको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा अपरिहार्य भएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दोस्रो बैठकमा पनि आपत्ति जनाउँदै संसद् चल्न दिएनन् । सभामुख अर्यालले प्रधानमनत्रीसँग आज (बिहीबार) परामर्श गरी जवाफ दिने बताएका थिए ।
विपक्षी दलले सदनमा प्रधानमन्त्री बालेन साहलाई खोज्दै अवरोध गरेपछि आज (बिहीबार) सम्मका लागि बैठक स्थगित गरिएको थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र उठेको प्रश्नको जवाफ दिनुपर्ने अडान विपक्षीले राखेका छन् ।
सडकमा पनि प्रधानमन्त्रीको खोजी
संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको बेला सडकमा पनि युवाहरूले सरकार र बालेनको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गरेका छन् । मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियतले तथा गैरजिम्मेवार प्रवृत्ति देखाएको भन्दै विरोध जनाएका छन् ।
युवाहरूले प्रधानमन्त्रीज्यू तपाईंको मूल्य कति हो ? मलाई बोल्न दे सरकार !, बोल माया एक वचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता नारा अङ्कित प्लेकार्ड बोकेका थिए ।