काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली कथानक चलचित्र ‘लालीबजार’ ले दुई सातामा पाँच करोड २५ लाख रुपैयाँ कमाएको छ ।


वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा ५ करोडमाथिको व्यापार गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।


कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहेका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।


उनले भने, “हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर चलचित्र हेर्न आउनुभएका दर्शक फर्किँदा सन्तुष्ट हुनुभएको छ, त्यो नै हाम्रो ठूलो सफलता हो । यसपटक हामीले सामाजिक दायित्वका रूपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो, कृतज्ञ छौँ ।”


“हामीले चलचित्रमार्फत देखाउन खोजेको विषय र दिएको सन्देशलाई दर्शकले स्पष्ट बुझ्नुभएको छ । चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया लिन मसहित हाम्रो चलचित्रमा आबद्ध कलाकार नेपालभर मुख्य सहरमा रहेका चलचित्र भवन पुगेका थियौँ । सबै ठाउँमा दर्शकले उस्तै राम्रो प्रतिक्रिया दिनुभयो । देशभर चलचित्रलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो”, अभिनेत्री खड्काले भनिन् ।


उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । रासस