विजयपुर । सामाजिक सञ्जाल टिकटकमा हातहतियार जस्तो देखिने वस्तु बोकेर भिडियो पोस्ट गरेको आरोपमा दुई जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।
टिकटकमा पोस्ट गरिएको भिडियोका आधारमा अनुसन्धान अघि बढाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको हो । सोमबार देवानगञ्ज गाउँपालिका वडा नं. २ निवासी वर्ष १७ र वर्ष १५ का दुई जना किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट फलामले बनेको घरेलु कटुवा पेस्तोल जस्तो देखिने एक थान हातहतियारसमेत फेला परेको प्रहरीले जनाएको छ । हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि नगर्न तथा शंकास्पद सामग्री सार्वजनिक नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।