विराटनगर । औषधि व्यवस्था विभाग (डीडीए) को अनुगमन टोली देखेपछि विराटनगरस्थित कोशी अस्पताल क्षेत्रका औषधि पसलहरूमा बुधबार भागाभाग चलेको छ ।
विभागले आकस्मिक अनुगमन सुरु गरेपछि कैफियत भेटिएका दुई पसल सिल गरिएको छ भने कारबाहीको डरले अन्य आधा दर्जनभन्दा बढी पसल सञ्चालक सटर झारेर फरार भएका छन् ।
विभागकी निमित्त प्रमुख सचिता वर्माको नेतृत्वमा खटिएको टोलीले अस्पतालको उत्तरतर्फ रहेको ‘गुरु मेडिकल हल’ बाट अनुगमन सुरु गरेको थियो । उक्त मेडिकल हलमा एउटै फर्मासिस्टले दुईतिर लाइसेन्स भाडामा लगाएको र म्याद गुज्रिएका औषधिसमेत बिक्रीका लागि राखिएको पाइएपछि टोलीले तत्काल पसल सिल गरेको छ ।
पछिल्लो समय औषधि पसलका सञ्चालकहरूले फर्मासिस्टको लाइसेन्स मासिक १२ देखि १५ हजार रुपैयाँसम्म तिरेर भाडामा लिने गरेको पाइएको छ । अनुगमन टोली पुग्दा सञ्चालकहरूले तुरुन्तै लाइसेन्सधारी फर्मासिस्टलाई बोलाउने गर्दछन् । तर, यसपटक डीडीएले लाइसेन्सको दोहोरो प्रयोग र जनशक्ति भौतिक रूपमै उपस्थित रहे÷नरहेको विषयमा कडाइका साथ जाँच गरेको छ ।
विभागका सूचना अधिकारी एवम् फार्मेसी निरीक्षक दीपेन्द्र खड्काका अनुसार गुरु मेडिकल हलका फर्मासिस्ट सुरेन्द्र मण्डलले आफ्नो लाइसेन्स दुई ठाउँमा प्रयोग गरेको पुष्टि भएको छ । उनी विराटनगर–१५ स्थित रानी अस्पतालको फार्मेसी र गुरु मेडिकल हल दुवै ठाउँमा कार्यरत रहेको कागजात भेटिएको हो । “औषधि ऐनअनुसार एउटै व्यक्तिले दुईतिर लाइसेन्स भाडामा लगाउन वा काम गर्न पाउँदैन” खड्काले भने, “यसरी कानून मिच्नेको लाइसेन्स ६ महिनासम्म निलम्बन गरी अनुसन्धान अघि बढाउने अधिकार हामीलाई छ, सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाएका छौँ ।”
यस्तै, अनुगमनका क्रममा ‘न्यु अपेक्षा उपचार क्लिनिक’ का सञ्चालक पसल छाडेर भागेपछि उक्त फार्मेसी पनि सिल गरिएको छ । विभागले फोन गरेर बोलाउँदा समेत सञ्चालक सम्पर्कमा नआएपछि बाध्य भएर सिलबन्दी गरिएको टोलीले जनाएको छ ।
अनुगमन टोली अस्पतालको दक्षिणतर्फ रहेको ‘विपश्यना फार्मेसी’ पुगेलगत्तै कोइराला निवासतर्फ जाने बाटोमा रहेका अन्य पसलहरूमा भागाभाग भएको थियो । बुधबार बिहानसम्म खुलै रहेका ‘मुस्कान क्लिनिक’ लगायतका आधा दर्जन पसलहरू अनुगमनको सूचना पाउनेबित्तिकै सटर झारेर बन्द गरिएका थिए । फरार रहेका ती पसलहरूमा पुनः ‘छड्के’ अनुगमन गरिने डीडीएले जनाएको छ ।
औषधि पसलमा फर्मासिस्ट नबस्ने र औषधिको अनुचित बिक्री वितरण भइरहेको जनगुनासो बढेपछि विभागले सक्रियता देखाएको हो । अनुगमनका क्रममा टोलीले औषधि बिक्री वितरण संहिताअनुसारको मापदण्ड अनिवार्य पालना गर्न व्यवसायीहरूलाई निर्देशनसमेत दिएको छ ।