विजयपुर । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा सुनसरी र झापामा भएको पाँच जनाको मृत्यु घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।


आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुनसरी जिल्लाको इटहरीमा दुई जना तथा झापा जिल्लामा तीन जना गरी पाँच जनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा ती घटनाहरू गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै निष्पक्ष छानबिन गर्न सिफारिस गरेको हो । आयोगले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारलाई सिफारिस गरेको छ ।

Screenshot 2026-05-28 155937

तर, प्रतिवेदन धरानमा भएका घटनाबारे मौन देखिएको छ । आन्दोलनका क्रममा धरानको व्यवसायिक प्रतिष्ठान भाटभटेनीमा आगजनी भएको थियो । उक्त आगजनीमा चार जनाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार आगलागीमा परेर मृत्यु भएकाहरूको हालसम्म सनाखत हुन सकेको छैन । “सनाखत हुन सकेको छैन,” उनले भने, “चार जनाको खरानी डिएनए परीक्षण गर्न पठाएको थियौं । डिएनए पनि हुँदैन भन्ने छ ।” उनले एक जना आफ्नो मान्छे आगजनीमा परेको दावी गर्दै जाहेरी दिएको जानकारी दिए ।


धरानमा प्रदर्शनकारीले व्यक्तिका घर तथा जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिका घरमा आगजनी तथा तोडफोड गरेका थिए । धरानको घटनाका विषयमा आयोग नै मौन भएपश्चात् प्रश्न उठ्न थालेको छ ।