विजयपुर । नेपालका आधाभन्दा बढी सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका छन् ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी हुने ५० दशमलव ८५ प्रतिशत रहेका छन् । शहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र समग्र जन्मदरमा आएको ह्रासका कारण ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घटेको प्रतिवेदनमा भनिएको छ । यता २ हजारभन्दा बढी विद्यार्थी भएका ठूला विद्यालयहरूको सङ्ख्या भने मात्र ० दशमलव ४७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
यस्तै, १०० देखि ५०० सम्म विद्यार्थी भएका विद्यालय १० हजार ८ सय ६९ पुगेका छन् । ५०१ देखि १ हजारसम्म विद्यार्थी भएका १ हजार ६ सय ७० पुगेका छन् । २ हजार भन्दा बढी विद्यार्थी भएका ठूला विद्यालय २०८१ मा १ सय वटा भएकोमा २०८२ मा बढेर १ सय २८ पुगेका छन् ।
उच्च शिक्षामा बढे विद्यार्थी
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ ।
उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ । कृषिमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा कम ०.१५ प्रतिशत रहेको छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिब ८०.० प्रतिशत रहेको प्रतिवेदनमा भनिएको छ ।