विजयपुर । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारी संस्थाको सङ्ख्या ३२ हजार ३२५ पुगेको छ ।
सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारी क्षेत्रको कुल शेयर पुँजी रु एक खर्ब ४३ अर्ब २९ करोड पुगेको उल्लेख गरिएको छ ।
सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कका लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । २०८१ असार मसान्तसम्म उक्त सङ्ख्या १८ हजार ८९७ रहेको थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको जनाएको छ ।
सङ्घीय सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये तीन संस्था राफसाफ भइसकेका छन् भने बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया जारी रहेको छ ।
हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताबाट रु ४७ अर्ब ६० करोड १३ लाख बराबरको माग दाबी दर्ता भएको छ । तीमध्ये तीन हजार ६८८ दाबीकर्तालाई पूर्ण रूपमा रु दुई अर्ब ५४ करोड ६८ लाख भुक्तानी गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षको फागुनसम्म आठ हजार ७६३ दाबीकर्तालाई रु १२ करोड २३ लाख रकम फिर्ता गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।