काठमाडौँ । कृषि क्षेत्रको पुनरुत्थानलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरी रु. ३२ अर्ब ३६ करोड पु¥याइएको उल्लेख छ । ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलाई विद्युत् सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
पशु चौपायामा लाग्ने खोरेत रोग नियन्त्रण गर्न रु. २४ करोड बजेटको व्यवस्था गरिएको छ । कृषि तथा पशुपन्छी विकासका लागि रु. ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री वाग्लेले सुनाए ।
किसानलाई ४० प्रतिशतसम्म अनुदान, अनुदान वार्षिक १० प्रतिशतका दरले दिइने बजेट वक्तव्यमा उल्लेख छ । कृषि अनुदानको सदुपयोगका लागि विशेष अनुगमन गरिने भएको छ । कृषि अनुसन्धान तथा विकास केन्द्रका माध्यमबाट कृषि क्षेत्रको विकास गरिने भएको छ । कृषि तथ्याङ्क प्रणालीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । रासस