विजयपुर । साहित्य, कला, संस्कृति र फोटोग्राफीलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजित ‘काव्य–कला कोलाज २०८३’ धरानमा सम्पन्न भएको छ ।


शनिबार कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा तथा धरान उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।


प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोटो प्रदर्शनी, विचार विमर्श, धरानको साहित्यिक इतिहासमाथि चर्चा तथा मातृभाषा साहित्य वाचन जस्ता विविध सिर्जनात्मक गतिविधिहरू समेटिएका थिए ।


फोटो प्रदर्शनीमा धरानका चर्चित फोटोग्राफरहरूको कृति प्रदर्शन गरिएको थियो। फोटोग्राफर दीपेश योञ्जन, राजेश शाक्य र रोजेश शाक्यका तस्बिरहरू प्रदर्शनीमा राखिएका थिए ।


यस्तै, ‘हामीले बनाइरहेको मानिस’ शीर्षकमा मनोवैज्ञानिक रुकुम टमटा र सह–प्राध्यापक डा. इन्दिरा मिश्रबीच मानव मनोविज्ञान, सामाजिक संरचना र समाज निर्माणका विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो । उक्त सत्रको सहजीकरण कवि राज माङलाकले गरेका थिए ।


दोस्रो सत्रको पहिलो कार्यक्रममा साहित्यकार डा. दीपक न्यौपानेले ‘कथा धरानको’ विषयमा धरानको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिसँगै यहाँको कथा साहित्यको विकासक्रमबारे प्रकाश पारेका थिए । त्यसैगरी ‘इन्द्रेणी’ शीर्षकअन्तर्गत आयोजित मातृभाषा साहित्य वाचन कार्यक्रममा निमा पोङ्स्युवा भोटे, रामनन्द चौधरी, मिश्रा गुरुङ, आइतु ग्याबा, लीला मगर, भीम विरही, वर्षा धिमाल, भवानी शङ्कर भट्टराई र बाली छथरेलगायतका स्रष्टाहरूले आ–आफ्ना मातृभाषामा कविता प्रस्तुत गरे । कार्यक्रमले भाषिक तथा सांस्कृतिक विविधताको सुन्दर झलक प्रस्तुत गरेको आयोजकले जनाएको छ ।


कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक कवि सुदीप पाख्रिनले कविता, चित्रकला र फोटोग्राफीबीचको अन्तर्सम्बन्धलाई नजिकबाट अनुभव गर्ने अवसर कार्यक्रमले प्रदान गरेको बताए। प्रतिष्ठानका कोषाध्यक्ष कवि पराजित पोमुले साहित्य, कला, संस्कृति र दृश्य अभिव्यक्तिका विविध माध्यमलाई एउटै छानामुनि ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम वेगा, स्वर्गीय कृष्ण पाख्रिनकी धर्मपत्नी कुमारी मोक्तान (पाख्रिन), तथा वडा नं. १३ का अध्यक्ष नेत्र काफ्ले, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा र वडा नं. ३ का सदस्य मिङ्मा भोटेलगायत सहभागी थिए ।


717154916_1684235509552592_6207868140995484681_n

719206300_1684257319550411_1714266208708828357_n

718855296_1684241412885335_636622777501646901_n