विराटनगर /  विराटनगर विमानस्थलभित्र सञ्चालित पसलहरूले यात्रुसँग वस्तुमा अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले चारवटा पसललाई कुल १२ लाख रुपैयाँ जरिवाना गरेको छ।

विमानस्थलभित्रका होटल तथा क्याफेहरूले सामानको तोकिएको मूल्यभन्दा दोब्बर–तेब्बर बढी मूल्य लिने गरेको जनगुनासो बढेपछि प्रशासनले मंगलबार आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको पाइएको छ। त्यस्तै, क्यान्टिन कक्षमा रहेको ग्यालेक्सी क्याफे एण्ड होटल प्रालिले ५० रुपैयाँ मूल्यको कोक १६० रुपैयाँमा बिक्री गरेको भेटिएको छ।

यसैगरी, विमानस्थल परिसरस्थित गरिमा क्याफेले ५० रुपैयाँको कोक ८० रुपैयाँमा तथा अनुकुल होटल एण्ड भान्छा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेट १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको अनुगमन टोलीले फेला पारेको छ।

अंकित मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गरेको कसुरमा चारवटै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम दोषी ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) अनुसार जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए। यसरी चार पसलबाट कुल १२ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर बेनु कुमार कार्की तथा उपभोक्ता हित संरक्षण मञ्च कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदीलगायतको सहभागिता रहेको थियो।

प्रशासनले उपभोक्तालाई ठगी गर्ने यस्ता व्यवसायमाथि आगामी दिनमा पनि निरन्तर निगरानी राखिने तथा पुनः कैफियत भेटिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।