विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरी जोडिएको घटनामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचन्द्र यादवसहित तीन जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा कारागारभित्र तरकारी आपूर्तिकर्ता विजय कामत र अभिषेक गिरीका सहयोगी दीपक कार्की रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । 

सुरक्षा निकायको प्रारम्भिक अनुसन्धान अनुसार गिरीले कारागारको मेसका लागि तरकारी लैजाने व्यक्तिहरूलाई प्रयोग गरेर भित्रबाट नगद बाहिर निकाल्ने गरेको जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी एवम् डिएसपी महेन्द्रकुमार मिश्रले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । “अहिले घटनाको अनुसन्धानका लागि हामीले उनीहरूलाई बोलाएका हौँ” उनले भने, “थप अनुसन्धान भइरहेको छ ।” कारागारका कैदीबन्दीले पाउने सरकारी सुविधा र उनीहरूको श्रमको कमाइसमेत जबरजस्ती असुल्ने गरेको आरोप गिरीमाथि लाग्दै आएको छ । 

हाल मोरङ कारागारमा एक हजार ९२ पुरुष र १ सय ७ महिला गरी कुल एक हजार १ सय ९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँका दरले सिधा भत्ता पाउँछन्; जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।

यसबाहेक सरकारले प्रतिकैदी वार्षिकरूपमा जाडो र गर्मीको लुगाका लागि २५÷२५ सय गरी कुल पाँच हजार रुपैयाँ उपलब्ध गराउँछ । कारागारभित्र करिब पाँच सय जनाले मुडा र सय जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको आम्दानी र सरकारी भत्तासमेत गिरीले तरकारी पु¥याउनेहरूमार्फत् ‘क्यास’ सङ्कलन गर्न लगाएर लिने गरेको बुझिएको छ । 

यसै प्रकरणलाई लिएर शनिबार नै कारागारका नाइके राकेश यादवसँग समेत बयान लिएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गरेको सूचनाका आधारमा गिरीलाई शनिबार बिहान विराटनगर–८ मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

नाइके यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याउँदा कैदीबन्दीले नाइकेको सरुवा गर्न लागिएको भन्दै विरोध गरेका थिए । उनीहरूले केहीबेर नाराबाजीसमेत गरेका थिए । डिएसपी मिश्रका अनुसार गिरीलाई आज (सोमबार) अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए ।