काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित भएको बताएका छन् ।


मंगलबार हुलाक सेवा विभागद्वारा आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए । उनले हुलाकको सकारात्मक नतिजा पनि देखिन थालिसकेको बताए ।


उनले भने, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको छ ।”


सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्त्व भने अझै कायम रहेको उनको भनाइ छ । “डिजिटाइजेसनले हुलाक सेवाको महत्त्व घटाएको छैन । बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ ।”– उनले भने ।


सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राखे ।


त्यस्तै, हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छविलाई सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको बताए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने, “हुलाकले आफैँलाई परिवर्तन गरेर फरक ढङ्गले सेवा दिन सक्नुपर्छ । सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो । हुलाक सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सरल, सहज र विशिष्टीकृत बनाउनुपर्छ ।”


उनले राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्थाले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याएको उल्लेख गरे । उनले नागरिकको समय, लागत र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वास पनि बढेको बताए । सुरक्षाका दृष्टिले समेत सरकारी हुलाक सेवा विश्वसनीय रहेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए ।


उनले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायका काममा उल्लेख्य प्रगति भएको जानकारी दिए ।


कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताए । उनले नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने उद्देश्यअनुसार विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिए । “राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात अहिले घरघरमै पुर्‍याउन थालिएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइनेगरी मन्त्रालयले काम गरिरहेको छ ।” सचिव बस्नेतले भने ।


हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै हुलाक सेवालाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको बताए । ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए ।


सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यबमोजिम देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको छ । विभागका अनुसार सरकारले परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा रूपान्तरण गर्ने नीति कार्यान्वयन गरिरहेको छ ।


यसअन्तर्गत राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरदैलोमै उपलब्ध गराउने सेवाको दायरा क्रमशः विस्तार हुँदै गएको विभागले जनाएको छ । रासस