धरान / हङकङमा रहेका धरानेहरूको हकहितका लागि सन् १९९९ मा स्थापना भएको धरान हङकङ मञ्चुको १२औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
आइतबार सम्पन्न अधिवेशनले संजोक राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। हङकङको जोर्डनस्थित किरात याक्थुम चुम्लुङको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्षमा रविन तामाङ, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई ९सन्जु० निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा रोशन लिम्बू, किशोर लिम्बू, विजयप्रसाद राई, जोना गुरुङ, राजकुमार राई, आविष्कार लिम्बू, खगेन्द्र लिम्बू (कैलास) र उदय लिम्बू चयन भएका छन्।
निर्वाचन समितिका अध्यक्ष एवं मञ्चका संस्थापक इन्द्र बनेम तथा सदस्यद्वय (पूर्वअध्यक्ष) विष्णु पाख्रिन र नानिचन्द लिम्बुले नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरेका थिए।
पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष संजोक राईले धरान हङकङ मञ्चलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले हङकङमा रहेका धरानेहरूलाई अझ सशक्त रूपमा एकताबद्ध गर्दै धरान र धरानेहरूको हितमा निरन्तर काम गर्ने आफ्नो उद्देश्य रहेको बताए।
अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङले मञ्चका सदस्यहरूमाझ उपस्थित हुँदा धरानको घण्टाघरमै उभिएको अनुभूति हुने बताए। उनले धरानको ऐतिहासिक महत्त्व स्मरण गर्दै नयाँ कार्यसमितिले संस्थालाई अझ प्रभावकारी र सक्रिय बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष रीता गुरुङले धरान हङकङ मञ्चलाई महासंघको मेरुदण्डका रूपमा चित्रण गर्दै यसको भूमिकाको प्रशंसा गरिन्। महासंघका अर्का पूर्वअध्यक्ष प्रदीप थापाले धरानमा सञ्चालित पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक गतिविधिमा आवश्यक सहकार्य र सहयोग गर्न आफू सधैँ तयार रहने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा धरान युथ एसोसिएसनका अध्यक्ष अमोद तुलाधर, किरात याक्थुम चुम्लुङ हङकङका अध्यक्ष शमशेर लिम्बू, धरान–१७ समाज हङकङका अध्यक्ष मधुकुमार राई तथा जीवन यात्रा समूहका प्रतिनिधि विक्रम आलेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।