विजयपुर । धरान उपमहानगरपालिकाले यसअघि लगत सङ्कलन प्रक्रियामा छुट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पुनः लगत सङ्कलन सुरु गरेको छ।
नगरपालिकाका अनुसार बुधबारदेखि सुरु भएको लगत सङ्कलन अभियान पाँच दिनसम्म सञ्चालन हुनेछ। यसअघि विभिन्न कारणले लगत सङ्कलन कार्यमा छुट भएका व्यक्तिहरूलाई आवश्यक कागजातसहित पाँच दिनभित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई लगत सङ्कलन फाराम भर्न आग्रह गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन, प्रमाणीकरण तथा सूचना प्रणाली (डाटा इन्ट्री) मा विवरण प्रविष्ट गर्ने कार्य चालू आषाढ मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भएकाले पुनः लगत सङ्कलन अभियान सञ्चालन गरिएको हो।
यसअघि लगत सङ्कलन प्रक्रियामा समावेश हुन नसकेका लक्षित वर्गका व्यक्तिहरूलाई यो अवसरको सदुपयोग गर्दै आवश्यक प्रमाणसहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण दर्ता गराउन नगरपालिकाले अनुरोध गरेको छ।
