काठमाडौं । सरकारले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

त्यसैगरी, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरिएको छ । बैठकले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्ले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए । रासस