विराटनगर । छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले सोमबार बिहान विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र ३५ वर्षीय शिक्षक अविरल मास्केलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत् व्यक्तिगत तथा अश्लील सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने तथा अमर्यादित व्यवहार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले घटनामा छात्रामाथि यौनजन्य दुव्र्यवहारसमेत भएको हुन सक्ने आशङ्कामा अनुसन्धानलाई फराकिलो बनाएको जनाएको छ । डिएसपी मिश्रले घटनाको वास्तविक प्रकृति र संलग्नताको अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै खुल्ने बताए । अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए कानूनबमोजिम कारबाही गरिने उनले जानकारी दिए ।

घटनापछि विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका थिए । सम्भावित तनावलाई मध्यनजर गर्दै विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो । विद्यार्थी र अभिभावकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेका छन् ।

घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले पनि गम्भीर चासो व्यक्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

विद्यालय व्यवस्थापनले पनि अनुसन्धानमा सहयोग पुग्ने गरी सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रशासनिक प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीले घटनाबारे सबै पक्षबाट अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा दोषी ठहर हुने जोसुकैमाथि कानूनअनुसार कारबाही गरिने जनाइएको छ ।