विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको ऐतिहासिक काली मन्दिरको अतिक्रमित जग्गा र भवन स्थानीय प्रशासनले खाली गराएको छ ।
उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार उक्त सम्पत्ति खाली गराई मन्दिर समितिलाई हस्तान्तरण गरेको हो ।
विराटनगर मेनरोडस्थित मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालले आफ्नो नाममा दर्ता गराएका थिए । पुजारीको मृत्युपछि उनकी श्रीमती उमादेवीले उक्त जग्गा बिक्री गर्न खोजेपछि मन्दिर समितिले कानूनी लडाइँ सुरु गरेको थियो ।
अदालतले उक्त जग्गा मन्दिरकै हकभोगमा रहने फैसला गरेपछि प्रशासनले भवन खाली गराउने प्रक्रिया अघि बढाएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले अदालतको आदेश अनुसार नै संरचना खाली गराई मन्दिर समितिलाई बुझाइएको जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालका अनुसार लामो समयदेखि व्यक्तिको कब्जामा रहेको उक्त भवनलाई अब मर्मत सम्भार गरी भक्तजनका लागि ‘धर्मशाला’ का रूपमा सञ्चालन गरिनेछ । “अदालतको फैसलासँगै मन्दिरको सम्पत्ति संरक्षण भएको छ” उनले भनिन्, “अब यसलाई सामाजिक र धार्मिक कार्यका लागि उपयोग गर्नेछौँ ।”