धरान–१३ स्थित कृषिउपज बजारमा यस वर्ष आँपको कारोबारमा उत्साहजनक कारोबार देखिएको छ । यसले कृषकमा सकारात्मक सन्देश दिएको छ । आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्ममा चार हजार ८ सय ४० मेट्रिक टन आँपको कारोबार भएको छ । यसबाट करिब ३३ करोड रूपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा परिमाण र मूल्य दुवैमा वृद्धि भएको छ । यसले स्थानीय बजारमा स्वदेशी उत्पादनप्रतिको बढ्दो आकर्षण र उपभोक्ताको विश्वासलाई प्रतिबिम्बित गरेको छ ।
बजारमा बिक्री हुने आँपमध्ये ९० प्रतिशत हिस्सा नेपाली आँपले ओगट्नु नेपाली कृषकका लागि खुसीको कुरा हो । विशेषगरी मधेश प्रदेशका सप्तरी, सिरहा र सर्लाही जस्ता जिल्लाहरुबाट आपूर्ति हुने मालदह, दसहरी र बम्बई जस्ता जातका आँपलाई स्थानीय उपभोक्ताहरुले रूचाएको देखिन्छ । यसले तराईका किसान र पहाडी तथा भित्री मधेसका उपभोक्ताबीचको व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ । भारतीय तथा चिनियाँ आँपको उपस्थिति केवल सिजनको सुरू र अन्त्य (बेमौसम) मा मात्र सीमित हुनुले नेपाली फलफूल बजारमा स्वदेशी उत्पादनको बलियो वर्चस्व रहेको प्रमाणित गर्छ ।
तर यो उत्साहप्रद आँकडाभित्र केही चुनौतीलाई पनि ध्यान दिनुपर्ने देखिएको छ । नेपालमा करिब ४२ हजार सात सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । जसको ७७ प्रतिशत उत्पादन मधेश प्रदेशमै सीमित हुने गरेको छ । उर्वर भूमि र सम्भावना हुँदाहुँदै पनि नेपाल अझै आँपमा पूर्ण रुपमा आत्मनिर्भर हुन सकेको छैन । गत आर्थिक वर्षमा मात्रै भारत र चीनबाट ६४ करोड रूपैयाँभन्दा बढीको आयात हुनुले हाम्रा नीतिगत र व्यवस्थापकीय कमजोरीलाई औँल्याउँछ ।
कारोबार बढे पनि किसानले पाउनुपर्ने वास्तविक प्रतिफल, आधुनिक भण्डारण (शीतघर) को व्यवस्था, रोग तथा किरा नियन्त्रण र बजारीकरणका शृङ्खलामा अझै धेरै सुधारको खाँचो छ । सिजनमा उत्पादन धेरै भएर उचित मूल्य नपाउने र बेमौसममा महँगो मूल्यमा विदेशी फलफूलमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । धरानको कृषिउपज बजारले देखाएको यो बाटोले कृषिमा आत्मनिर्भरता सम्भव छ भन्ने आधार खडा गरेको छ । अब सरकार तथा सरोकारवाला निकायले तराईका आँप उत्पादक किसानलाई प्राविधिक सहयोग, प्रविधि हस्तान्तरण र सुरक्षित यातायात तथा भण्डारणको सुविधा उपलब्ध गराउनुपर्छ । स्वदेशी उत्पादनको गुणस्तर सुधार र बजार व्यवस्थापनमा अझ ध्यान पु¥याउन आवश्यक छ । विशेषगरी विदेशबाट हुने आयात घटाई किसानको जीवनस्तर उकास्न र मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन सरकारले ढिला गर्नुहुँदैन ।