सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनाले सबैलाई एक पटक सचेत हुनुपर्ने सन्देश दिएको छ । बोलबममा जान लागेका समूहले ठूलो आवाजमा डिजे बजाएको दुई समूहबीचमा झडप भएको बताइएको छ । जसले गर्दा असामान्य घटना घट्न पुगेको छ । जहाँ एक नौजवान युवाले ज्यान गुमाएका छन् भने करिब ९ जना युवाहरु प्रहरीको गोली लागेर घाइते भएका छन् । उनीहरु हाल उपचाररत छन् । सुरूवातमा सामान्य झै“ लाग्ने यो घटनाले सुनसरीको देवानगञ्ज क्षेत्रलाई तनावग्रस्त बनाएको छ । प्रशासनले कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । कफर््युमा पनि स्थानीयहरु बहिर निस्किएर आगजनी, तोडफोडमा उत्रिने जस्ता घटनाका कारण नेपाली सेना खटिएको अवस्था छ । सेना खटिए पनि घटना पूर्णतः शान्त हुन सकेको अवस्था छैन ।

यो घटनाको मुख्य कारण देवानगञ्ज गाउँपालिकाको मुख्य बजार कप्तानगञ्जको बीचमा हिन्दूहरुले झण्डा गाडेको विषयलाई मानिएको छ । यो घटना डिजे बजाएर हिँडेकै कारण भएको हो भन्ने आधार देखिँदैन । किनकि यसभन्दा अगाडि पनि डिजे बजाउँदै बोलबममा जानेहरु निस्किएका उदाहरण छन् । प्रत्येक वर्ष तराईवासीहरु बोलबमका लागि निस्किने गरेका छन् । यही कारण घटना घट्यो भन्दा यसअघि पनि यस्ता घटना किन भएनन् त भन्ने प्रश्न पनि जीवित छ । यो अवस्था कसरी सिर्जना भयो ? के हिजो रातिकै घटनाले यो अवस्थामा पु¥याएको हो त ? या यस घटनासँग जोडिएर आएका कार्यकारण सम्बन्धहरु छन् । यस विषयमा चाहिँ मन्थन हुन आवश्यक देखिन्छ ।

सुनसरीमा भएको यो पहिलो घटना होइन । यस्ता घटनाहरु हुँदै आइरहेका छन् । हिन्दू–मुस्लिमको नाममा हुने यस्ता दङ्गाफसादले सुनसरी बेलाबेलामा जोखिम क्षेत्रको रुपमा परिचित हुँदै आएको छ । प्रशासनले पनि केही बढी निगरानी गर्दै आइरहेको छ । यसले पनि सुनसरी कति जोखिम हो भन्ने देखाउँछ । तर अहिलेको वर्तमान अवस्थालाई नियन्त्रणमा लानु र संयमित भएर अगाडि बढ्नु नै उचित हुने देखिन्छ । सबै पक्षले संयमता अपनाउँदै अगाडि बढ्नुको विकल्प छैन । सबैले सद्भाव कायम गर्नेतर्फ पाइला चाल्न आवश्यक छ । विशेषगरी देवानगञ्ज क्षेत्रका जनताले संयमता अपनाउन जरूरी छ । यस्ता झिल्कोहरुलाई समयमै निमिट्यान्न पार्न सकिएन भने यसले झनै ठूलो रुप लिने सङ्केत देखिएको छ । यसले गर्दा यहाँका राजनीतिक दल, सामाजिक संस्था, गैरसरकारी संस्था, मानवअधिकारवादी संस्थाहरुले घटनालाई मिलाउनेतिर ध्यान दिन आवश्यक छ ।

यो घटनाको परिदृश्यमा अन्य स्थानमा पनि विरोधका कार्यक्रमहरु देखिएका छन् । यस्तो गतिविधि अन्यत्र देखिनु राम्रो विषय होइन । सुनसरीको एउटा क्षेत्रमा भएको घटनालाई लिएर अन्यत्र पनि यस्ता घटना हुनुले झन् समस्या ल्याउने देखिन्छ । सकेसम्म घटनालाई मिलाउनेतिर जानुपर्छ । परिदृश्यमा जे जस्ता घटना देखिएका छन् यसलाई तत्कालै नियन्त्रणतर्फ सबैले पाइला चाल्नुपर्छ । अहिलेको वर्तमान आवश्यक पनि यही हो भनेर आत्मसात गर्दै प्रहरी प्रशासन, प्रशासन तथा नागरिक समाजहरु, राजनीतिक दलहरुले भूमिका खेल्नुपर्छ । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देशमा सबै धर्म, संस्कार, संस्कृतिको सहअस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्छ । एकले अर्कोको धर्मसंस्कारलाई सम्मान गर्दै अगाडि बढ्नु नै अहिलेका लागि हितकर हुन्छ ।