कप्तानगञ्ज (सुनसरी) । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जको रामचोकमा बुधबार दिउँसो २ बजे पुग्दा माहोल अलि फरक थियो । सामान्यतया व्यापारिक चहलपहल र स्थानीयको गफगाफले गुञ्जने यो चोकमा यतिबेला सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले मार्च गरिरहेको थियो ।
सुनसरीका ९ वटा पालिकामा प्रशासनले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरे पनि चोकतिर केही सर्वसाधारणको चहलपहल देखिन्थ्यो । तर, त्यो चहलपहलमा पहिलेको जस्तो रौनक थिएन । स्थानीयका अनुहारमा एउटा गहिरो छट्पटी र पुरानै शान्ति फर्काउने तीव्र इच्छा प्रष्टै झल्किन्थ्यो । कप्तानगञ्जवासीको आँखामा १० साउन (आइतबार) रातिको त्यो भयावह दृश्य अझै नाचिरहेको छ । तर, उनीहरूको मनमा एउटै प्रार्थना छ– “अब थप क्षति नहोस् र वर्षौंदेखिको सामाजिक सद्भाव नखल्बलियोस् ।”
१० साउन (आइतबार) को रात कप्तानगञ्जका लागि ‘कालो रात’ बन्यो । एउटा सामान्य विवाद (झण्डा नहटाएको र चर्को आवाजमा डिजे बजाएको विषय) ले हेर्दाहेर्दै उग्र रूप लियो । दुई समुदायबीचको झडप नियन्त्रण बाहिर पुगेपछि स्थिति सम्हाल्न सुरक्षाकर्मीले गोली चलाउनु प¥यो । सोही क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय स्थानीय युवक ओमप्रकाश मेहताले ज्यान गुमाए । घटनामा ९ जना घाइते भए, जसको अहिले विराटनगरका तीनवटा अस्पतालमा उपचार भइरहेको छ ।
यही घटनाको वस्तुस्थिति बुझ्न गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समिति बुधबार कप्तानगञ्ज आइपुगेको छ । सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा आएको टोलीले घटनास्थलको मिहिन निरीक्षण ग¥यो । टोलीले मृतकका परिवारलाई भेटेर सान्त्वना मात्र दिएन, स्थानीयवासीसँग सोधपुछ गरी सत्यतथ्य बुझ्ने प्रयास पनि ग¥यो । टोलीले देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहतासँग पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएको थियो ।
कप्तानगञ्ज चोकबाट करिब दुई किलोमिटर दक्षिण लागेपछि भारतसँगको सीमा क्षेत्र पुगिन्छ । यहाँ करिब दुई सय घर मुस्लिम समुदायको बसोबास छ । मस्जिदअगाडि भेटिएका स्थानीय मौलाना हबीब मन्सूरीको अनुहारमा चिन्ता प्रष्ट देखिन्थ्यो । “हामी यहाँ सयौँ वर्षदेखि मिलेर बस्दै आएका हौँ । हाम्रा हजुरबुबाको पालादेखि यहाँ कुनै भेदभाव थिएन” मन्सूरीले भने, “जुन घटना घट्यो, त्यो हुनु हुँदैनथ्यो । अब हामी फेरि त्यही पुरानो भाइचारा कायम गरेर अगाडि बढ्न चाहन्छौँ ।” उनका अनुसार अपराधी जोसुकै होस्, उसलाई कानूनी कारबाही हुनुपर्छ, तर त्यसको नाममा सिङ्गो समाजको सद्भाव बिग्रिनु हुँदैन ।
रामचोकमै भेटिएका पूर्व संविधानसभा सदस्य मुगालाल मेहता पनि दोषीलाई कडा कारबाही र सामाजिक सद्भाव कायम गरिनुपर्ने कुरामा सहमत छन् । उनलाई लाग्छ, प्रहरीले संयमता अपनाएको भए परिस्थिति यति भयानक हुने थिएन । “प्रहरीले घातक हतियार प्रयोग गर्दा एउटा निर्दोषको ज्यान गयो । छानबिन समितिले दोषीलाई कारबाही गरोस्” मेहताले भने, “तर, अब समाजलाई दुई भागमा बाँडेर समाधान निस्कँदैन । अब हामीले सद्भावको यात्रा सुरु गर्नुपर्छ ।”
झडप भएको स्थानभन्दा केही पर घर भएका तपेजुम मन्सूरी पनि यसलाई व्यक्तिगत अपराधका रूपमा हेर्नुपर्ने र समुदायलाई जोड्न नहुने तर्क गर्छन् । “जसले गल्ती ग¥यो, उसले सजाय पाउनुपर्छ । तर, सबैको चाडपर्व र आस्थाको सम्मान गर्दै हामी मिलेर बस्नुको विकल्प छैन”–उनले थपे ।
तनाव साम्य पार्न देवानगञ्ज र छिमेकी हरिनगर गाउँपालिकाले संयुक्त पहल थालेका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सर्वदलीय बैठक डाकेर सबै जातजाति र समुदायलाई संयमित हुन अपिल गरेका छन् । बैठकमा सहभागी राजनीतिक दलका स्थानीय नेता र सामाजिक अगुवाहरूले कुटपिट, तोडफोड र आगजनी रोक्न प्रतिबद्धता जनाएका छन् ।
देवानगञ्जका अध्यक्ष वेचनप्रसाद मेहता पनि संवादकै माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न लागिपरेका छन् । उनी भन्छन्, “अब समाज भाँडिनु हुँदैन । शान्ति सुरक्षा कायम गरी सामाजिक सद्भाव कायम गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन ।”
आकाशबाट सेनाको सुरक्षा निगरानी
बुधबार कप्तानगञ्जको आकाशमा नेपाली सेनाको हेलिकप्टरले निरन्तर हवाई गस्ती गरिरह्यो । नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतका अनुसार सुरक्षा अवस्थाको वास्तविक स्थिति बुझ्न र सम्भावित जोखिम टार्न हवाई गस्ती गरिएको हो । उता प्रहरीले पनि ड्रोनमार्फत् बस्तीहरूको निगरानी गरिरहेको छ । आधुनिक प्रविधिको प्रयोग र बाक्लो सुरक्षा उपस्थितिले गर्दा बुधबार कप्तानगञ्जमा कुनै अप्रिय घटना हुन पाएन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले तीनवटै सुरक्षा निकायले उच्च सतर्कता अपनाएको बताए ।