विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा उपचाररत अर्का घाइतेको पनि मृत्यु भएको छ।
सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत जयप्रकाशलाई बिहीबार दिउँसो १ः२४ बजे चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। गोली लाग्दा उनको पेटमा गम्भीर चोट लागेर आन्द्रा बाहिर निस्किएको थियो। सोमबार शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
यसअघि आइतबार राति गोली लागेर घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्याइएलगत्तै मृत्यु भएको थियो। दुवैको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
आइतबार राति कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर १० जना घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये केहीको अवस्था अझै गम्भीर रहेको अस्पतालले जनाएको छ।
गोलीकाण्डपछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गए पनि कर्फ्यु आदेश भने अझै जारी छ।