विजयपुर । डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौँ अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको पहिलो दिनका खेलमा चार विद्यालय विजयी भएका छन् ।


शुक्रबार डिपो माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमी धरानले अरनिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अङ्कले पराजित गर्‍यो । हिमालयन मेघाले खेलका चारै क्वाटरमा १२–८, १७–६, १५–७ र १६–९ को अग्रता बनाउँदै सहज जित निकाल्यो ।


त्यस्तै, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरीले सियोन स्कुल धरानलाई ३५–२३ अङ्कले पराजित गर्‍यो । हिमशिखरले पहिलो, दोस्रो र तेस्रो क्वाटरमा अग्रता लिएको थियो भने अन्तिम क्वाटर ८–८ अङ्कको बराबरीमा सकिएको थियो ।


उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालय धरानले आइडल बोर्डिङ स्कुल धरानलाई २८–२० अङ्कले हरायो । डिपोले चार क्वाटरमा क्रमशः १०–४, ४–२, ६–८ र ८–६ को नतिजा निकाल्दै विजयी सुरुवात गर्‍यो ।


यसैगरी ब्राइट फ्युचर एकाडेमी मोरङ खेलमा उपस्थित नभएपछि दिल्ली पब्लिक स्कुल धरानलाई स्वतः विजेता घोषणा गरिएको छ ।


कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ । साउन १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विद्यालयका पूर्व अध्यक्ष तथा डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता उनको योगदानको सम्मानस्वरूप सञ्चालन हुँदै आएको हो ।लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै समयमा कोरोना महामारीका क्रममा २०७८ साल साउन १५ गते निधन भएको थियो ।