धरान । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै धरान–१४ स्थित पिण्डेश्वर बाबाधाम समितिले यस वर्षको साउन महिनाको बोलबम मेलामा रात्रिकालीन पूजा तथा जल अर्पण स्थगित गरेको छ ।
समितिका अध्यक्ष विकासकुमार बनेपालीद्वारा जारी विज्ञप्तिअनुसार भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस वर्ष साउन सोमबारको बोलबम मेलामा बिहान ५ बजेदेखि मात्रै दर्शन तथा जल अर्पणको व्यवस्था गरिएको छ । यसअघि भक्तजन आइतबार रातिदेखि नै पिण्डेश्वर पुगेर सोमबार लाग्नासाथ कोशीको जल अर्पण गर्ने परम्परा रहँदै आएको थियो ।
समितिले मुलुकमा विकसित पछिल्ला घटनाका कारण शान्ति–सुरक्षाको अवस्था संवेदनशील बनेकाले रात्रिकालीन मेला सञ्चालन गर्दा सुरक्षा जोखिम बढ्न सक्ने निष्कर्षका आधारमा यो निर्णय गरिएको जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा नेपालमै सबैभन्दा पहिले धरानको विजयपुरस्थित पिण्डेश्वरबाट बोलबम मेलाको सुरुवात भएको उल्लेख गरिएको छ । परम्पराअनुसार चतरास्थित कोशी नदीबाट पवित्र जल ल्याएर गेरु वस्त्रधारी भक्तजनले पिण्डेश्वर महादेवमा जल अर्पण गर्दै आएका छन् । २०४०÷०४१ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यो मेला पूर्वी नेपालको प्रमुख धार्मिक मेलामध्ये एक मानिन्छ ।