विजयपुर । पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधिका लागि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरीबीच प्रतिस्पर्धा हुने भएको छ । 


सोमबार सम्पन्न खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले हिमालयन मेघा एकाडेमी, धरानलाई पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा प्रभातले हिमालयनलाई ४७–४६ अङ्कले पराजित गरेको हो । समग्र चार क्वाटरमा प्रभातले १५–१०, ४–१५, २०–१३, ८–८ अङ्कले हिमालयन मेघालाई पराजित गरेको थियो । खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका नेमसाङ मगर 'म्यान अफ द म्याच' घोषित भएका थिए ।


प्रतियोगिताको दोस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीलाई पराजित गरेको हो । खेलमा पाराडाइजले १५–४, ५–७, ५–९ र ९–८ अङ्क गरी हिमशिखरलाई ३९–२८ अङ्कले पराजित गरेको थियो । खेलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीका प्रिन्स खत्री 'म्यान अफ द म्याच' भएका थिए ।


आफ्नो खेल जितेका पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानबीच उपाधिको लागि भोलि निर्णायक खेल हुनेछ । उपाधि दावेदार पाराडाइज यो बास्केटबल प्रतियोगिताको चौथो संस्करणको उपविजेता पनि हो ।


डिपो माध्यमिक विद्यालयले कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी १६ विद्यालय सहभागी भएका थिए । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।


प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरले पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गरिएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।