वराहक्षेत्र । सरोकारवालाको गैरजिम्मेवारीको नमुना वराहक्षेत्र नगरपालिका–२ पुनरवासस्थित शारीरिक व्यायाम केन्द्र (जिम हल) बनेको छ ।

जनताको करबाट करिब ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक जिम हल निर्माण भएको करिब १० वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन । २०७४ को प्रतिनिधि सभाको चुनावमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व सांसद् जयकुमार राईको सांसद् विकास कोषबाट निर्माण गरिएको जिम हल प्रयोगमा आउन नसकेको हो । जिम हल निर्माणका लागि सांसद् विकास कोषबाट २० र १० लाख गरी दुई पटक रकम निकासा गरिएको थियो । यसैगरी जिम हल घेराबाराका लागि वराहक्षेत्र नगरपालिकाका दिवङ्गत पूर्व नगर प्रमुख निलम खनालले ५ लाख रुपैयाँ विनियोजन गरेका थिए । 

जिम हलमा हालसम्म करिब ४० लाख रुपैयाँ खर्च भइसकेको वराहक्षेत्र नगरपालिका–२ का अध्यक्ष होमप्रसाद गौतमले बताए । जङ्गलनजिक रहेको सो व्यायाम केन्द्र रेखदेखको अभावमा त्यहाँ रहेका केही कसरतका उपकरणहरू हराएका छन् । हाल जिम हलमा एक–दुईवटा मात्र उपकरण रहेको शारीरिक व्यायाम केन्द्रका संरक्षक वडा–२ का सदस्य झप्पडबहादुर कटुवाल बताउँछन् । 

“जिम हलमा निर्मित दुईवटा शौचालयमा अहिले माकुराको जालो लागेको छ । जिम हलको घेराबेरा पनि छैन”–कटुवालले भने । यति लामो समयसम्म किन सञ्चालनमा नआएको भन्ने जिज्ञासामा हालका वडाध्यक्ष होमप्रसाद गौतम भन्छन्, “२०७९ मा आफू वडाध्यक्ष निर्वाचित भएर आउँदा जिम हल सञ्चालन गर्ने कुनै समिति बनेको थिएन ।” जिम हल तदर्थ समिति बनाई जिम्मा लगाइए पनि काम नगरेका कारणले गर्दा समस्या भएको उनको भनाइ छ । 

उनका अनुसार केही युवाले व्यावसायिक रूपमा सञ्चालन गर्ने बताए पनि पछि उनीहरूले समेत वास्ता गरेनन् । तत्कालीन जिम हल सञ्चालन तदर्थ समितिका अध्यक्ष रविन राईलाई फोन गरे पनि सम्पर्क हुन सकेन ।

 जिम हल सञ्चालन गर्न किन समिति गठन गरिएन भन्ने जिज्ञासामा पूर्व वडाध्यक्ष हरिकृष्ण भट्टराई भन्छन्, “मैले सिफारिस गरेर ल्याएको जिम हल भवन बनिसकेपछि मलाई नै साइड लगाएर राजनीति मात्रै गरे, अनि मैले कसरी गर्नु ?” 

व्यायाम केन्द्रको नयाँ सञ्चालन समिति

केन्द्र निर्माण भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआएपछि अहिले जिम हलको जिम्मा स्थानीय युवाहरूले लिएका छन् । शनिबारको भेलाले अमन निरौलाको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सपना नेपाल सिलवाल, सचिवमा युवराज भट्टराई, सहसचिव मदन कोइराला र कोषाध्यक्षमा सङ्गीता राई रहेका छन् । 

यस्तै सदस्यहरूमा इन्दिरा मगर र विनोद गुरागाईं छन् । समितिको सल्लाहकारमा रोशन राई, अर्जुन कार्की र सञ्जीवकृष्ण उपाध्याय रहेका छन् ।

जिम हलको विधान समिति संयोजकमा तुलसी घिमिरे र सदस्यद्वय राजन आचार्य र भगवती दाहाल कार्की रहेको भट्टराईले बताए । “जङ्गल नजिक रहेको जिम हल जाने बाटोको पनि राम्रो व्यवस्थापन छैन; घेराबारासमेत छैन, जिम हलमा ९० प्रतिशत कसरत गर्ने उपकरण नै छैनन्” भट्टराईले भने, “हामीले चाँडै  विधान  बनाएर काम थाल्नेछौँ ।”