विजयपुर । धरान उपमहानगरपालिकाले अनधिकृत रूपमा खाना पकाउने ग्यास बिक्री–वितरण गर्ने व्यवसायीलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
शनिबार उपमहानगरपालिकाको पहलमा इलाका प्रहरी कार्यालय धरान, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र इलाका प्रशासन कार्यालयको संयुक्त टोलीले धरानका विभिन्न बजार क्षेत्रमा ग्यासको आपूर्ति तथा बिक्री–वितरणको अवस्थाबारे अनुगमन गरेको थियो।
अनुगमनका क्रममा किराना पसललगायतका व्यवसायबाट ग्यासको अनधिकृत बिक्री–वितरण भइरहेको पाइएपछि सम्बन्धित व्यवसायीलाई तत्काल बिक्री रोक्न सुझाव दिइएको हो। साथै, ग्यास बिक्री–वितरण गरेको विषयमा उपमहानगरपालिकामा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार कल्याण चोकको प्रिमा ग्यास र धरान १५ स्थित मनकामना ट्रेडलाइ स्पष्टीकरण माग गरिएको हो ।
टोलीले ग्यासको आपूर्ति सहज नभएको अवस्थामा किराना पसलबाट ग्यास बिक्री नगर्नसमेत व्यवसायीलाई आग्रह गरेको छ। उपभोक्तालाई ग्यास वितरण गर्दा एक व्यक्तिलाई एकवटा मात्र सिलिन्डर उपलब्ध गराउन अनुरोध गरिएको छ।
अनुगमनका क्रममा धरानका होटल तथा क्याटरिङ व्यवसायीहरूलाई पनि ग्यासको प्रयोग तथा खरिदमा आवश्यक संयमता अपनाउन आग्रह गरिएको छ। आपूर्ति सहज नभएसम्म होटल तथा क्याटरिङ व्यवसायीले अत्यधिक परिमाणमा ग्यास सञ्चय नगर्न र उपभोक्तालाई असहज हुने अवस्था सिर्जना नगर्नसमेत आग्रह गरिएको छ।
ग्यासको अभावको समयमा अनधिकृत बिक्री–वितरण, कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमनलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ।
बजार अनुगमनमा इलाका प्रहरी कार्यालय धरान, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, इलाका प्रशासन कार्यालय र धरान उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए।