धरान । धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको कार्यालय सहयोगी/लेखा नियुक्ति विषयमा उठेको विवादमा छानबिन सुरु गरिएको छ । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईका अनुसार गत बिहीबारबाट सामान्य प्रशासन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाको संयोजकत्वको समितिले छानबिन थालेको हो । उनको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । “छानबिन समितिका संयोजक प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको संयोजकत्वमा समिति बनेको छ”–उनले फोनसम्पर्कमा भने । ज्ञानोदय मा.वि.मा गत असार २२ गते खुलाएको तीन पदमध्ये कार्यालय सहयोगी÷लेखामा विद्यालयका प्रधानाध्यापक अमर चेम्जोङ लिम्बूले आफ्नै श्रीमती तृष्णा लिम्बूलाई सफल उम्मेदवारमा छनोट गरी नियुक्ति दिलाउन भूमिका खेलेका थिए । 

उनी परीक्षा छनोट समितिको संयोजक रहेका थिए । शिक्षा नियमावलीले गरेको व्यवस्थाअनुसार उनी समितिमा बसेका थिए । संयोजक बनेर आफ्नै श्रीमतीलाई जागिर खुवाउन भूमिका खेलेको भन्दै वैकल्पिक उम्मेदवार दीपा भट्टराईले धरान उपमहानगरपालिका शिक्षा महाशाखा र धरान–११ नम्बर वडा कार्यालयमा निवेदन दिएकी थिइन् । उक्त निवेदनपश्चात् तृष्णा लिम्बूले एकाएक आफू नभ्याउने भन्दै स्कुललाई निवेदन दिएकी थिइन् । उक्त घटनामा आफ्नै श्रीमतीलाई जागिर खुवाउन भूमिका खेलेको भन्दै निवेदन परेपश्चात् धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सापकोटाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । 

उनले उक्त समितिलाई शुक्रबार पत्राचार गर्दै अनुसन्धान गर्नका लागि जिम्मेवारी तोकेको थियो । शिक्षा महाशाखाका अधिकृत ध्रुवराज खड्काले प्रशासन महाशाखाका वेदप्रसाद सापकोटाको संयोजकत्वमा समिति बनेको आफूले जानकारी पाएको बताए । “तीन सदस्यीय समिति गठन भएको छ । जहाँ महाशाखाका अधिकृत वेदप्रसाद सापकोटा संयोजक रहेका छन्” –उनले भने । 

यता संयोजक सापकोटालाई यसबारे बुझ्दा उनले शुक्रबार पत्राचार भए पनि ढिला गरी पत्र प्राप्त गरेको बताए । “बुधबारबाट काम सुरु भएको छ । हामीले मङ्गलबार पत्र प्राप्त ग¥यौँ” उनले भने, “घटनाबारे हेर्दै छौँ । 

चाँडै नै अनुसन्धान सक्नेछौँ ।” उनका अनुसार सम्बन्धित विद्यालयलाई पत्राचार गरी जवाफ पेस गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको छ । यस विषयमा बुझ्नका लागि प्रअ चेम्जोङलाई फोनसम्पर्क गरी बुझ्न खोज्दा उनले फोन उठाएनन् । यता ह्वाट्सएपमा समेत फोन गर्दा पनि उनले कुनै जवाफ दिएनन् । 

स्रोतले यस घटनामा शिक्षा महाशाखासँग मिलेर राम्रै सेटिङ भएको जनाएको छ । धरानको १६, १७ नम्बर वडामा रहेका विद्यालयहरू हेर्नका लागि जिम्मेवारी चन्द्रकला राईलाई तोकिएको छ । तर उनको क्षेत्राधिकारभन्दा बाहिर गएर शिक्षा महाशाखाबाट उमादेवी दाहाललाई जिम्मेवारी दिइएको थियो । यस विषयमा चन्द्रकला र उमादेवीबीच विवाद पनि भएको थियो । उक्त विवादलाई प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले मिलान गरिदिएका थिए । उनीहरूमध्ये अङ्ग्रेजी विषयको परीक्षाको जिम्मेवारी चन्द्रकलालाई दिइएको थियो भने उमादेवीलाई कार्यालय सहयोगी÷लेखाको जिम्मेवारी दिइएको थियो । यसबारे चन्द्रकलालाई बुझ्दा उनले भनिन्, “मेरो क्षेत्राधिकार रहेको स्थानमा उसलाई (उमादेवी) लाई जिम्मेवारी दिएको थाहा पाए पछि मैले प्रतिवाद गरेको थिएँ । पछि सर (तीर्थराज) ले जिम्मेवारी मिलाइदिनुभयो ।”

यसबारे प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले स्पष्ट पार्दै भने, “उहाँहरू विवाद भए पछि मैले आफैले बोलाएर विवाद नगर्नू, शिक्षा महाशाखाले गरेको निर्णयअनुसार गर्नूस् । त्यो अनुसार गर्नुभएन भने तपाईंहरूलाई पनि कारबाही गर्छू भनेर भनिदिएको हो ।”