भद्रपुर । जापानिज इन्सेफ्लाइटिस (जेई)बाट झापामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै जिल्लामा जेईबाट मृत्यु हुनेहरूको सङ्ख्या ६ र सङ्क्रमितहरूको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेहरूमा चार महिला र दुई पुरुष छन् । हालसम्म मेचीनगरमा दुई तथा हल्दिबारी, बाह्रदशी, बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।

मेचीनगरका ५, हल्दिबारीका १, बाह्रदशीका १, कचनकवलका १, बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखा परेको हो ।

त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको, दुई जना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको उनले जानकारी दिए । सङ्क्रमितहरु अधिकांश ५० वर्ष माथिका रहेको उनले जनाए । सङ्क्रमितमा एकजना बालक ७ महिनाका र एकजना ४० वर्ष उमेरको रहेको उनले जनाए ।