धरान । धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयले खुलाएको तीन पदमध्ये नेपाली विषयको शिक्षक माग गरिएको विषय एकाएक रोकिएको विषयमाथि शङ्काको नजरबाट हेरिएको छ ।
ज्ञानोदयले असार २२ गते विज्ञापन खुलाउँदा तीनवटा पदका लागि विज्ञापन खुलाएको थियो । जसमा एउटा नेपाली, एउटा अङ्ग्रेजी विषय शिक्षक र एउटा कार्यालय सहयोगी÷लेखा रहेको थियो । यसमध्ये लेखाको विषयमा अहिले विवादित बनेर छानबिनको क्रममा छ भने नेपाली विषयको परीक्षा एकाएक रोकिएको छ ।
गत साउन १६ गते परीक्षा लिने गरी तयारी गरिएको थियो । जसमध्ये अङ्ग्रेजी र कार्यालय सहयोगी/लेखा विषयको परीक्षा लिइएको थियो । परीक्षा छनोट समितिमा विद्यालयका प्रधानाध्यापक अमर चेम्जोङ बसेका थिए । जसका कारण लेखातर्फ विवादित भई धरान उपमहानगरपालिकाले प्रशासन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाको संयोजकत्वमा समिति गठन गरी काम पनि थालिसकेको अवस्था छ ।
यता नेपाली विषयको किन रोकियो भन्ने विषय अझैसम्म अस्पष्ट रहेको छ भने विद्यालय प्रशासनले समेत यसबारे जानकारी गराएको छैन । अपुष्ट स्रोतका अनुसार परीक्षामा सहभागी हुन आउने केही परीक्षार्थी आउन नसकेका कारणले रोकिएको भनिएको छ ।
जसमा शङ्का व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले गत साउन २५ गते एक विज्ञप्ति जारी गर्दै तेस्रो बुँदामा लेखेको छ, “झण्डै साढे दुई वर्षदेखि रिक्त रहेको नेपाली विषय शिक्षकको आवेदन हुँदाहुँदै पनि भोलि हुने परीक्षा आज साँझ स्थगित गरिनु स्वार्थपूर्ण देखिन्छ ।” रास्वपा नगर समितिका सभापति सुमन श्रेष्ठ र सचिव ख्यामप्रसाद फुयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको थियो ।
आशङ्का व्यक्त गरिए जस्तै एक स्रोतका अनुसार राजनीतिक, नातावादका कारणले गर्दा एकाएक रोकिएको हो । नेपाली विषयका लागि १५ जनाले आवेदन दिएको बुझिएको छ । तर धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा साथै विद्यालयले यसबारे कुनै जानकारी गराएको छैन । धरान उपमहानगरपालिका स्रोतका अनुसार १५ जनाले आवेदन दिएका छन् । आवेदनअनुसार परीक्षा लिनुपर्नेमा एक्कासि रोकिएकोमा आशङ्का व्यक्त गरिएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले नेपाली विषयको परीक्षा रोकिएको विषयमा प्रधानाध्यापक चेम्जोङलाई बुझ्दा परीक्षा दिन आउने ४ जना परीक्षार्थीहरू धरानबाहिरबाट आउनुपर्ने भएकाले सुनसरीको देवानगञ्जमा भएको घटनाका कारणले लागेको कफ्र्युपश्चात् आउन नसकेपछि रोकिएको आफूलाई जानकारी दिएको बताए ।
प्रअ चेम्जोङले नेपाली विषय विज्ञका लागि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा माग गरेका थिए । उनले साउन १५ गते शुक्रबार बिहान कार्यालय खुल्नेबित्तिकै विज्ञको माग लिई पत्र लिएर आएका थिए । उक्त निवेदनअनुसार दिउँसोतिर क्याम्पसले आफ्नो सम्बन्धित नेपाली विभागको विभागीय प्रमुख र अर्का एक शिक्षकलाई जिम्मेवारी तोकेको क्याम्पस प्रमुख चन्द्र राईले जानकारी दिए ।
“१५ गते कार्यालय खुलेलगत्तै प्रअ अमर चेम्जोङ आफैले विज्ञको माग गरी पत्र लिएर आउनुभएको थियो” उनले ब्लाष्टकर्मीलाई फोनसम्पर्कमा भने, “मैले विभागतिर पठाइदिएपश्चात् विभागीय प्रमुख र अर्का शिक्षकको नाम लेखेर तयारी गरेको थिएँ । फेरि दिउँसोतिर प्रअ स्वयम् आएर लिएर जानुभयो ।”
यसबारे बुझ्नका लागि प्रअ चेम्जोङलाई ब्लाष्टकर्मीले उनको नेपाल दूरसञ्चारको प्रिपेड फोन नम्बरमा फोन गर्दा फोन उठाएनन् । यस्तै उनलाई सोही नम्बरको ह्वाट्एपमा समेत फोन गरिएको थियो । ह्वाट्सएपमा पनि फोन उठाएनन् । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत ध्रुवराज खड्काले नेपाली विषयको परीक्षा नगराएको विषयमा प्रअलाई बुझ्दा कफ्र्यु लागेका कारणले विराटनगरतिरका चार जना विद्यार्थी आउन नसकेकाले स्थगित गरिएको जानकारी दिएको बताए । “प्रअको कुरा अनुसार कफ्र्यु लागेको कारण बाहिरबाट परीक्षार्थी आउन नसकेको कारण नगरिएको भन्ने थियो”–उनले भने ।
एक स्रोतका अनुसार धरान उपमहानगरपालिकाका एक उच्च पदस्थ जनप्रतिनिधिको भाइलाई जागिर लगाउने प्रयास गरिएको थियो । सोहीअनुसारको काम अगाडि बढाइएको थियो । तर महेन्द्र बहुमुखी क्याम्पसबाट पठाइन लागिएका नेपाली विषयका विज्ञहरूबाट उक्त परीक्षार्थीलाई उत्तीर्ण गराउने वातावरण नभएपश्चात् बन्द गरिएको बुझिएको छ ।
यसै विषयमा रास्वपा नगर समितिले पनि आशङ्का व्यक्त गरेकोबाट उक्त कुरा प्रष्ट हुन आउँछ । रास्वपाका नगर सभापति सुमन श्रेष्ठले ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा पनि भनेका थिए, “त्यहाँ नेपाली शिक्षक नभएको धेरै भयो । विद्यार्थीहरूले पढ्न नपाएको सत्य हो । नेपाली शिक्षक चाहिएको छ तर चलखेल हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।”
धरान उपमहानगरपालिकाका एक अधिकृतका अनुसार ज्ञानोदय मा.वि.को घटनामा राजनीति मात्रै नभई नातावादको विषय पनि पेचिलो रहेको उल्लेख गरे । यस विषयमा आन्तरिक रूपमा आफूले बुझ्दै आएको बताए । यसमा कर्मचारी पनि संलग्न भएको हुनसक्ने अनुमान गरिएको ती अधिकृतले बताए । “यहाँ नातावाद मात्रै हैन, राजनीति र कर्मचारीको पनि कहीँकतै संलग्नता छ कि भन्ने पनि आशङ्का गरिएको छ । त्यो विषयमा मैले आन्तरिक रूपमा बुझेको छु । तर अनुसन्धानबाट के आउँछ । त्यसैअनुसार अगाडि बढ्छौँ”–ती कर्मचारीले फोनसम्पर्कमा भने ।
यसबारे धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईलाई बुझ्दा छानबिन समितिले दिएको प्रतिवेदनअनुसार कर्मचारी पनि संलग्न देखिए कारबाही हुने उल्लेख गरे । यस घटनामा विज्ञ नियुक्तिदेखि नै सेटिङ भएको बुझिएको छ ।
यस घटनालाई पुष्टि गर्ने गरी धरान– १६ र १७ का विद्यालय निरीक्षकको जिम्मेवारी पाएकी चन्द्रकुमारी (कला) राईलाई जानकारी नै नदिई विद्यालय व्यवस्थापन समितिदेखि परीक्षासम्म गर्ने जिम्मेवारी दिएकोबाट प्रष्ट हुँदै आएको छ । यस विषयमा शिक्षा महाशाखाकी चन्द्रकलाले पनि आफ्नो अधिकार हस्तक्षेप गरेको ब्लाष्टकर्मीलाई बताइन् । उनले आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताइन् ।