विजयपुर । रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठान, धरानको तेस्रो वार्षिक साधारण सभा आइतबार* धरान–१८ वडा कार्यालयको सभाहालमा सम्पन्न भएको छ ।

साधारण सभाले प्रतिष्ठानलाई खेलकुदसँगै स्वास्थ्य, शिक्षा, रक्तदान तथा साहित्यिक गतिविधिमा सक्रिय बनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रूपमा विस्तार गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष तथा रेवाहाङका पिता रेवती रमण राईका अनुसार परिवारले सुरुमा दुई लाख रुपैयाँबाट स्थापना गरेको कोषमा प्रतियोगिताबाट बचत भएको रकम थपिएर हाल तीन लाख रुपैयाँ पुगेको छ ।

प्रतिष्ठानले आगामी दिनमा स्वास्थ्य शिविर, रक्तदान, बालबालिकाको शारीरिक तथा बौद्धिक विकाससम्बन्धी कार्यक्रम र साहित्यिक गतिविधि सञ्चालन गर्ने जनाएको छ । साथै, सदस्य विस्तारलाई प्राथमिकता दिँदै आजीवन सदस्य संख्या २७ पुगेको छ । साधारण सभाको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले गरे । कार्यक्रममा पूर्व नगर प्रमुख तिलक राई, विजयपुर हस्पिटलका सञ्चालक प्रभाव खतिवडा तथा नेपाली कम्युनिष्ट पार्टीका धरान संयोजक सिपी बजगाईं लगायतले प्रतिष्ठानको सामाजिक अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

१६ वर्षकै उमेरमा निधन भएका बास्केटबल खेलाडी रेवाहाङको स्मृतिमा परिवारले सुरु गरेको प्रतियोगिता अहिले प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताका रूपमा विस्तार भएको छ । ‘प्रदेशस्तरीय अन्तरविद्यालय मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता’ को चौथो संस्करण समेत सम्पन्न भइसकेको प्रतिष्ठानका सचिव नारायणप्रसाद सुवेदीले बताए ।