विजयपुर । सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्षा ११ होटल म्यानेजमेन्टका विद्यार्थीलाई पाँचतारे होटल ‘मेची क्राउन’ भ्रमण गराएको छ ।
शनिबार झापाको धुलाबारीस्थित ‘होटल मेची क्राउन’ को अवलोकन भ्रमण गराएको हो । भ्रमणका क्रममा विद्यार्थीलाई होटलको आतिथ्य सेवा, व्यवस्थापन, खानपान, शिष्टाचार तथा व्यावसायिक कार्यशैलीबारे अभिमुखीकरण गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक घिमिरेले विद्यार्थीलाई आफ्नो भविष्यप्रति अहिलेदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी दृढतापूर्वक अघि बढ्न आग्रह गरे । पाँचतारे होटलको हस्पिटालिटी सेवा, खानपान, सेवा शिष्टाचार तथा समग्र व्यवस्थापनबारे व्यावहारिक ज्ञान प्रदान गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनले बताए । कलेजकी होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालले होटल म्यानेजमेन्ट अध्ययनको आवश्यकता, हस्पिटालिटी इन्डस्ट्रीको सम्भावना तथा व्यावसायिक दक्षताबारे विद्यार्थीलाई जानकारी दिइन् । उनले व्यक्तित्व, बोल्ने शैली, व्यवहार तथा प्रस्तुतीकरणलाई कसरी व्यावसायिक बनाउने भन्ने विषयमा समेत जानकारी दिइन् ।
कार्यक्रममा होटल मेची क्राउनकी एचआर पुनम बन्जराले होटलबारे जानकारी दिइन् । उनका अनुसार होटलमा २०५ वटा कोठासहित क्यासिनो, स्विमिङ पुल, हेल्थ क्लब लगायतका सुविधाहरू छन् । अतिथिलाई आकस्मिक स्वास्थ्य समस्या वा अन्य आपत्कालीन अवस्था आइपरेमा हेलिकप्टर अवतरण गर्न सकिने व्यवस्था होटल परिसरमा रहेको उनले बताइन् ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । अवलोकन भ्रमणका क्रममा विद्यार्थीले होटलको हाउसकिपिङ, किचन, विभिन्न श्रेणीका अतिथि कक्ष, सेवा क्षेत्र तथा अन्य विभागको प्रत्यक्ष अवलोकन गरे । पाँचतारे होटलमा अतिथि स्वागतदेखि कोठा व्यवस्थापन, खाद्य उत्पादन, सेवा प्रवाह तथा व्यावसायिक शिष्टाचारसम्मका कार्य कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्नेबारे विद्यार्थीले ज्ञान हासिल गरे । कलेजका अध्यक्ष राजेश विद्रोहीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा कलेजका शेयर सदस्य प्रभाष राजवंशी, सागर खड्का तथा एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेलगायतको उपस्थिति थियो ।

