काठमाडौँ । रसुवामा आएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौँ ल्याइएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर खुल्न नसकेका एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार उद्धार गरिएका घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिए । प्रहरीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ । रासस