बैङ्कक ।  चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी महिना हुन सक्ने शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशबीच रहेका अवरोध हटाउन आग्रह गरेका छन्। उनले आपसी मतभेदलाई उचित ढंगले व्यवस्थापन गर्दै उच्चस्तरीय संवादका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

चिनियाँ सरकारी प्रसारण संस्था सिसिटिभीका अनुसार विदेशमन्त्री वाङले बुधबार चीनका लागि अमेरिकी राजदूत डेभिड पड्र्युसँग भेटवार्ता गर्दै सकारात्मक पक्षमा ध्यान केन्द्रित गर्न र मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। उनले दुई देशबीचको सम्बन्धमा अनावश्यक हस्तक्षेप हटाउनुपर्नेमा समेत जोड दिए।

चीन–अमेरिका सम्बन्ध अझै विभिन्न जोखिम र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै वाङले उच्चस्तरीय आदानप्रदानका क्रममा देखिएका अवरोध हटाउन आवश्यक रहेको बताए। उनका अनुसार आपसी संवादलाई सहज बनाउन दुवै पक्षले सम्बन्धमा देखिएका समस्याको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ।

राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीले गत मेमा बेइजिङमा भेटवार्ता गरी द्विपक्षीय सम्बन्धलाई स्थिर राख्ने तथा नाजुक व्यापार युद्धविरामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए। त्यसपछि ट्रम्पले सीलाई सेप्टेम्बर २४ मा अमेरिकामा भेटवार्ताका लागि आमन्त्रण गरेका छन्। तर, चिनियाँ राष्ट्रपतिको अमेरिका भ्रमणको निश्चित मिति भने सार्वजनिक भएको छैन।

यसबीच अमेरिका र चीनले एकअर्काविरुद्ध आर्थिक कदम चाल्न भने जारी राखेका छन्। अमेरिकाले चिनियाँ उत्पादनका रोबोट तथा चीनमा व्यापार र अन्य गतिविधिमा संलग्न अमेरिकी संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ। आर्थिक तथा व्यापारिक विवाद कायमै रहेका बेला दुवै देशका राष्ट्रपतिबीच हुन सक्ने शिखर वार्तालाई द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।रासस / एपी