विजयपुर । बाढीपहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिन माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । नेपाली सेनाका अनुसार हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ ।

जलविद्युत् आयोजनाका टनेलमा फसेकाहरूको खोजीका लागि स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ । चिलिमे हाइड्रोको टनेलमा टोली करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोको टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी तथा उद्धार कार्य गरेको नेपाली सेनाले जनाएको छ ।

त्रिशूली–३ए आयोजनामा टनेल हेड फेला पारिएको छ । टनेलभित्र हावा पठाउन कम्प्रेसर प्रयोग गरिएको छ भने पानी निकाल्ने काम जारी छ । उद्धार टोलीले वैकल्पिक मार्ग निर्माणका लागि तीनवटा एक्साभेटर प्रयोग गरी करिब १५ मिटर क्षेत्र खनेको छ । टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन रक ब्रेकरमार्फत ढुङ्गा फुटाउने कामसमेत भइरहेको छ ।

त्यस्तै, त्रिशूली–३बी आयोजनामा विज्ञसहितको नेपाली सेनाको टोलीले टनेलमा प्रवेश गर्ने मार्ग पहिचान गरी एक्साभेटरको सहयोगमा खन्ने काम गरिरहेको छ । नेपाली सेनाका अनुसार बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३एबाट २२१ जना, माथिल्लो त्रिशूली–३बीबाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत्बाट ४ जना, त्रिशूली जलविद्युत्बाट ३ जना र देवघाट जलविद्युत्बाट ५ जना रहेका छन् ।

यसैबीच, प्रभावित क्षेत्रमा जमिन खोज तथा उद्धार कार्य पनि जारी छ । जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने र थप उद्धारको आवश्यकताको मूल्याङ्कन भइरहेको छ ।

नेपाली सेनाले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरेको जनाएको छ । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् । बाढी तथा पहिरो प्रभावित क्षेत्रलाई संक्रमणमुक्त बनाउने उद्देश्यले सेनाले धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ तथा मुलपानी सामुदायिक वनमा डिसइन्फेक्सन गरेको छ । अन्य प्रभावित स्थानमा पनि स्थानीय तहसँगको समन्वयमा डिसइन्फेक्सन गर्ने तयारी भइरहेको सेनाले जनाएको छ ।

790268967_2474337336386220_5503861352194274178_n

790147185_1612468850467305_4555991752982116991_n

790505717_816535914851159_6451285098307879540_n

787942452_1342425104336505_1432567051602876002_n