काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जानकारी दिए । सहयोग आउने क्रम बढ्दै गएको उनले बताए ।

उनका अनुसार राहत कोषमा बुधबारसम्म रु ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ । जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु एक अर्ब निकासा गरिएको थियो । त्यसमध्येबाट रु ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकासा भइसकेको छ । उक्त कोषमा हाल रु ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप रु ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । रासस