विजयपुर । रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बिराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

बिराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलबबाट संकलित ४७ लाख ५० हजार रुपैयाँ र उक्त रकममा ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले व्यक्तिगत रूपमा प्रदान गर्नुभएको २४ लाख ५० हजार रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ कोषमा जम्मा गरिएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए ।

यसअघि नै बिराट ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले विपद्का कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

बाढीबाट घाइते तथा प्रभावितहरूको उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, सघन उपचार (आईसीयू), अस्पताल शय्या तथा आवश्यक चिकित्सा उपकरण र पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको छ ।

त्यसैगरी, बिराट हेल्थकेयर इन्डस्ट्रिज प्रा. लि. ले बाढी प्रभावित महिलाको महिनावारी स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक सेनेटरी प्याड, डायपर लगायतका सामग्री सहयोगस्वरूप पठाएको जनाएको छ ।

बिराट ग्रुपअन्तर्गत बिराट नर्सिङ होम, बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, बिराट मेडिकल कलेज र बिराट हेल्थकेयर इन्डस्ट्रिज प्रा. लि. ले विपद्का समयमा प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवामा निरन्तर सहयोग गर्दै आएका छन् ।