रसुवा । नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ ।

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रका स्थानीयबासी शेषनाथ भट्टराईका अनुसार विदेशी विज्ञसहितको विशेष टोलीले सुरुङभित्रबाट एक व्यक्तिको शव निकालेको हो । उनका अनुसार सोही जलविद्युत् आयोजनाका दुई कर्मचारीलाई आज बिहान जीवितै उद्धार गरेपछि उद्धार टोली थप उत्साहित भएर खोज तथा उद्धारमा जुटेको छ । उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै चिनियाँ तथा अमेरिकी विज्ञसमेत सहभागी छन् ।

यता, रसुवाका बाढी प्रभावित क्षेत्रमा मौसममा सुधार नआए पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरणको काम तीव्र पारिएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम भइरहेको जानकारी दिए । रासस